काठमाडौं - २६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक धरान फुटबल क्लबले माघ २२ देखि फागुन २ सम्म धरान रंगशालामा हुने प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक गरेको हो । स्वदेशी तथा विदेशी गरी १० टिम सहभागी हुने छन् । उद्घाटन खेल धरान फुटबल क्लब र भारतको जर्जियन फुटबल क्लबबीच हुनेछ।
त्यस्तै, माघ २३ गते भुटानको रोयल थिम्पु फुटबल क्लब र झापा–११ झापाबीच दोस्रो प्रि–क्वाटरफाइनल खेल हुनेछ । क्वार्टरफाइनल चरणका खेलहरूमा माघ २४ गते प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं र साविक विजेता न्यू-रोड टिम काठमाडौं, माघ २५ गते नेपाल पुलिस क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड काठमाडौं तथा माघ २७ गते झापा–११ र सातदोबाटो युथ क्लब ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, माघ २६ गते उद्धघाटन खेलको विजेताले लालीगुरास फुटबल क्लब पोखरासँग प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने प्रतियोगिताको फाइनल खेल फागुन २ गते शनिबार हुनेछ ।


0 comment