विभिन्न प्रकारका पाकेका फलहरुबाट मानिसहरुलाई स्वास्थ्यका लागि नभई नहुने तत्वहरु पाइन्छन् । जस्तैः कार्बोहाइड्रेट, प्रोटिन, बोसो, खनिजपदार्थ र भिटामिनहरु । शरीरलाई आवश्यक पर्ने यस्ता तत्वहरु आपूर्ति गर्न मानिसहरुले नियमित रुपमा फलफूल खानु अति आवश्यक छ । स्वस्थ रहनका लागि एक जना मानिसले प्रतिदिन कम्तीमा १०० ग्राम फल खानुपर्दछ । 

अंग्रेजीमा एउटा उखान छ –"An apple a day keeps the Doctor away." मानौँ दिनको एउटा स्याउ खानाले डाक्टरकहाँ जानुपर्दैन । 

आँप, केरा, मेवा जस्ता पहेंला फलफूलहरुमा प्रशस्त मात्रामा भिटामिन ए र बी पाइन्छ । भिटामिन ए ले आँखाको दृष्टि क्षमतामा वृद्धि गर्छ । भिटामिन बी ले शरीर वृद्धिमा सहयोग पु¥याउँछ । सुन्तला, कागती, अमला, अम्बा आदि अमिला फलफूलहरुमा भिटामिन सी पाइन्छ । भिटामिन सी ले दाँत बलियो बनाउँछ र मुखको स्वास्थ्य ठीक राख्छ । आयुर्वेदिक शास्त्रअनुसार अमला, हर्रो, बर्रोलाई त्रिफला भनिन्छ । स्वास्थ्यका लागि अति उत्तम छ । फलफूलले खाद्यान्नको अभाव पूर्ति गर्छ । 

तराईमा आँप पाक्ने मौसममा आँपको बगैँचामा गएर दिनभर बस्न, भुइँमा झरेको पाकेको आँप टिप्दै खाँदै गरेर छाक टार्ने मानिसहरु धेरै छन् । पहाडमा पाकेको कटहरको फल खाएर छाक टार्नेहरु पनि छन् । त्यसैले फलफूलले अनिकालमा छाक टार्ने काम गर्छ भने सहकालमा मानिसलाई निरोगी बनाउने काम गर्छ । 

फलफूल धेरै उत्पादन गरेर पाकेको फल संरक्षणका लागि उद्योग, कलकारखाना खोल्न सकिन्छ । कारखानाबाट धेरै मानिसहरुले काम पाउँछन् । फलबाट, फलको बोटको जराबाट तथा बोक्राबाट विभिन्न प्रकारका औषधिहरु बनाउँछन् । 
हाम्रो देशमा माटो वेगर हैरान गरेको छ । भिरालो माटोमा जताततै फलफूलका बोटहरु लगाएमा माटो संरक्षण हुन्छ र वातावरण सुधारमा सहयोग पुग्छ । 

ठूलठूला फलफूलका वृक्षहरु लगाएको ठाउँमा पानीको मूलको संरक्षण हुन्छ । वर्षा पनि धेरै हुन्छ । यस्ता बोटका चौडा पातहरुले वायुमण्डलको कार्बन डाइअक्साइड सोसेर लिन्छ र वातावरण शुद्ध बनाउँछ । कार्बनले व्यापारमा सहयोग पु¥याउँछ । त्यसैले अब हामीहरु सबैले आ–आफ्नो जमिनमा आवश्यक मात्रामा फलफूलको खेती गरौँ ।