कथा दुबईको हो अनि यथार्थको हो  दुबई नेपालीहरूका लागि रोजगारी, शिक्षा र राम्रो भविष्यको आशामा जाने प्रमुख गन्तव्यहरूमध्ये एक हो। प्रत्येक वर्ष हजारौँ नेपालीहरू आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने, ऋण तिर्ने, छोराछोरीको भविष्य सुरक्षित गर्ने वा आफ्नै जीवनमा केही नयाँ गर्नका लागि दुबई जाने गर्छन्। बाहिरबाट हेर्दा दुबई आधुनिक, सुन्दर र सुविधायुक्त देखिए पनि  वास्तविक जीवन धेरै नेपालीहरूका लागि संघर्ष, त्याग र धैर्यले भरिएको हुन्छ।
दुबईमा रहेका अधिकांश नेपालीहरू श्रमप्रधान काममा संलग्न हुन्छन्। निर्माण मजदुर, सफाइकर्मी, सेक्युरिटी गार्ड, ड्राइभर, होटल कर्मचारी, डेलिभरी राइडर, तथा साना पसलका कामदारका रूपमा नेपालीहरू काम गरिरहेका हुन्छन्। उनीहरू दिनको १०–१२ घण्टा कडा परिश्रम गर्छन्, विशेष गरी गर्मी मौसममा अत्यधिक तापक्रममा काम गर्नु अत्यन्त कठिन हुन्छ। आम्दानी सीमित भए पनि धेरैजसोले आफ्नो तलबको ठूलो हिस्सा नेपालमा रहेका परिवारलाई पठाउने गर्छन्। यो उनीहरुको बाध्यात पनि हो। 

दुबईमा बाँच्न नेपालीहरूले धेरै सम्झौता गर्नुपर्छ। धेरैजसो नेपालीहरू एउटै कोठामा ५–६ जना मिलेर  बस्छन् ताकि कोठा भाडा कम होस्। खाना आफैँ पकाउने, अनावश्यक खर्च नगर्ने, सादा जीवन बिताउने उनीहरूको बाध्यता हुन्छ। कतिपयले ओभरटाइम वा अतिरिक्त काम गरेर भए पनि केही बढी आम्दानी गर्ने प्रयास गर्छन्। शारीरिक थकान र मानसिक तनाव हुँदाहुँदै पनि परिवारको जिम्मेवारी सम्झेर उनीहरू निरन्तर काम गरिरहेका हुन्छन्।

कामदार मात्र होइन, केही नेपालीहरू दुबई अध्ययन र व्यवसायका लागि पनि जान्छन्। तर विद्यार्थीहरूको जीवन पनि सजिलो हुँदैन। शिक्षा महँगो, बसोबास खर्चिलो र पार्ट–टाइम काम गर्न कानुनी कठिनाइ हुन्छ। धेरै विद्यार्थीहरू शुल्क, भाडा, खाना र यातायात खर्च व्यवस्थापन गर्न संघर्ष गर्छन्। उचित जानकारी र मार्गदर्शन नहुँदा कतिपय विद्यार्थीहरू आर्थिक समस्यामा  पर्छन्।

मेरो व्यक्तिगत अनुभव पनि आशा, संघर्ष, सिकाइ र यथार्थ  यस्तै यस्तै बुझाइको मिश्रण थियो। म दुबई अध्ययन गर्ने उद्देश्यले गएको थिएँ। धेरै नेपाली युवाहरूझैँ मैले पनि विदेश गएर पढेपछि भविष्य राम्रो हुन्छ भन्ने आशा गरेको थिएँ। दुबई पुगेपछि सबै कुरा नयाँ थियो—परिवेश, मानिस, नियम, संस्कृति। सुरुमा उत्साह थियो तर परिवारबाट टाढा हुँदा डर र अनिश्चितता पनि थियो।

मैले विश्वविद्यालयमा भर्ना भएर पढाइ सुरु गरेँ। त्यससँगै दैनिक खर्च, बसोबास र व्यक्तिगत आवश्यकताहरू आफैँ व्यवस्थापन गर्नुपर्‍यो। दुबईमा सानो  बस्तुको पनि खर्च  धेरै महँगो पर्न सक्छ। कोठा भाडा, खाना, यातायात र अन्य खर्चका कारण बजेट मिलाउन निकै गाह्रो भयो। त्यहाँ बाँच्न आम्दानी मात्र होइन, खर्च नियन्त्रण गर्न र ब्यबस्थापन  जान्नुपर्छ भन्ने कुरा मैले बुझेँ।

भावनात्मक रूपमा पनि दुबईमा नेपालीहरूको जीवन कठिन हुन्छ। परिवार, चाडपर्व, संस्कृति र आफ्नोपनको अभावले धेरै नेपालीहरू एक्लोपन महसुस गर्छन्। दशैं, तिहारजस्ता चाडहरू परिवारसँग मनाउन नपाउँदा मन भारी हुन्छ। मेरो हकमा पनि आर्थिक तनाव र पढाइसम्बन्धी अनिश्चितताले मानसिक दबाब बढ्यो। कहिलेकाहीँ म सही निर्णय गरिरहेको छु कि छैन भन्ने द्विविधामा पर्थे ।

तर यी सबै कठिनाइबीच मैले जीवनका महत्वपूर्ण पाठहरू सिकेँ। आत्मनिर्भर बन्न सिकेँ, जिम्मेवारी बुझ्न थालेँ र समस्यासँग एक्लै जुध्ने क्षमता विकास भयो। विभिन्न देशका मानिसहरूसँग भेटघाट हुँदा फरक–फरक संस्कृतिबारे बुझ्ने अवसर पनि पाएँ। दुबई बहुसांस्कृतिक देश भएकाले यसले मेरो सोचाइलाई अझ फराकिलो बनायो।

दुबईमा नेपालीहरू बाँच्न सक्नुको मुख्य कारण उनीहरूको मेहनती स्वभाव र परिवारप्रतिको जिम्मेवारी हो। शारीरिक पीडा, मानसिक तनाव र घरको सम्झना हुँदाहुँदै पनि उनीहरू हार मान्दैनन्। परिवारको भविष्य राम्रो होस् भन्ने आशाले उनीहरू मौन रूपमा संघर्ष रोज्छन । यही धैर्य र सहनशीलता नेपालीहरूको सबैभन्दा ठूलो शक्ति हो।

तर सबैको कथा सफल हुँदैन। कतिपयले काम गुमाउँछन्, तलब नपाउने समस्या भोग्छन्, कानुनी झमेलामा पर्छन् वा ऋणमा डुब्छन्। यस्ता अवस्थामा सहारा नपाउँदा जीवन झन् कठिन हुन्छ। यी र यस्तै कथाहरु सबैले भोग्नु पर्दछ यी सबै मैले पनि भोगे त्यसमाथि  मेरो अवस्थामा चाहि  अलि फरक रुपमा आयो जुन मैले कल्पना गरेको थिइन् म बिरामी परे  अर्को समस्या आइपर्यो  केहि समय त् संघर्ष गर्दै रहे बिरामी निको हुने कुनै संकेत भएन  समस्या दिन प्रतिदिन थपिदै गयो मैले थेग्न सकिन म हारे   पढाइसम्बन्धी दुबिधा र बिमारीको कारण समस्या झन् बढ्दो रह्यो यस्तो अबस्थामा   दुबईमा बसिरहनु व्यवहारिक होइन जस्तो लाग्यो । धेरै सोचविचारपछि मैले नेपाल फर्किने निर्णय गरेँ।  निर्णय अनुसार संसार जित्छु भन्दै दुबई   पुगेको  एक साहसी युवा  निरास हुँदै सिथिल सरिर लिएर हार्दै म आफ्नो जन्म भुमि  फर्के। 

अहिले विचार गर्छु नेपाल फर्कनु हार होइन, यथार्थ बुझेर लिएको सही निर्णय थियो। दुबईको अनुभवले मलाई परिवारको मूल्य,आफन्त ,देश महत्व र जीवनको  स्थायित्व र यथार्थपरक योजना कति महत्वपूर्ण हुन्छ भन्ने कुरा सिकायो। म अनुभव, परिपक्वता र भविष्यप्रतिको स्पष्ट सोच लिएर नेपाल फर्किएँ। दुबईमा भोगेका संघर्षहरूले मलाई मानसिक रूपमा अझ बलियो बनायो।

निष्कर्षमा भन्नुपर्दा, दुबईमा नेपालीहरूको जीवन संघर्ष, बाँच्ने सैली  र त्यागको कथा हो। अवसर भए पनि त्यहाँ धैर्य, परिश्रम र सहनशीलता अत्यावश्यक हुन्छ। मेरो व्यक्तिगत अनुभव धेरै नेपालीहरूको कथाजस्तै हो—सुरुमा आशा, बीचमा संघर्ष र अन्त्यमा जीवनका महत्वपूर्ण पाठहरू। यो अनुभव मेरो जीवनको अमूल्य हिस्सा बनेर सधैँ मेरो मार्गदर्शन गर्नेछ।  अब म नेपाल छाड्ने होइन यहि माटोमा संघर्ष गर्दै एउटा लगन सिल इमान्दार र भबिस्यको कर्णधार बन्ने निश्चय गरेको छु आफ्नो  देश आफन्त र परिवारको मेरुदण्ड बन्नेछु भन्ने अठोट गरेको छु।