कागेश्वरी मनोहरा नगरपालिकाले आजदेखि स्थानीय तहबाटै मालपोत तथा नापी सेवा प्रवाह सुरु गर्दै नयाँ इतिहास रचेको छ। सेवा सञ्चालनको पहिलो दिन नगरपालिकाले लालपुर्जा वितरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरेको हो।

उद्घाटन कार्यक्रममा सम्बन्धित सचिवले सेवाग्राहीको नयाँ लालपुर्जामा हस्ताक्षर गरी वितरण गरेपछि सेवा हस्तान्तरण प्रक्रियाको औपचारिक सुरुवात भएको थियो। स्थानीय सरकारको तहबाटै मालपोत र नापी सेवा प्रदान गर्ने देशकै पहिलो पालिकाका रूपमा कागेश्वरी मनोहरा स्थापित भएको  छ।

नगरपालिकाबाटै भूमि सम्बन्धी सेवा उपलब्ध हुन थालेपछि अब स्थानीय बासिन्दाले मालपोत कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ। यसले सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा प्रदान गर्नुका साथै बिचौलियाको प्रभावसमेत घटाउने अपेक्षा गरिएको छ। सेवा सुरु भएसँगै स्थानीय नागरिक उत्साहित देखिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले मालपोत र नापी कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू स्थानीय सरकारमार्फत सञ्चालन गर्ने अवसर प्राप्त हुनु नगरवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यसबाट नागरिकले सहज, सरल र सुशासनयुक्त ढंगले घरदैलोको सरकारबाटै भूमि सम्बन्धी सेवा प्राप्त गर्ने सुनिश्चितता भएको उल्लेख गरे।

नगरप्रमुख कार्कीले यो उपलब्धि ठूलो इच्छाशक्ति, निरन्तर पहल र सामूहिक प्रयासको परिणाम भएको बताए। “यो काम नगरप्रमुखले मात्रै चाहेर सम्भव हुने विषय थिएन। विभिन्न निकायसँगको छलफल, समन्वय र लामो यात्रापछि हामी आजको दिनसम्म आइपुगेका हौँ,” उनले भने।

उनका अनुसार संघीय व्यवस्थाअनुसार स्थानीय तहलाई भूमि प्रशासनसँग सम्बन्धित अधिकार दिने व्यवस्था पहिले नै भए पनि आवश्यक ऐन–कानुन तथा प्रक्रियागत जटिलताका कारण कार्यान्वयनमा कठिनाइ हुँदै आएको थियो। पछिल्लो समय कानुनी संशोधन र नीतिगत सहजीकरणपछि स्थानीय तहबाट सेवा सञ्चालनको बाटो खुलेको हो।

नगरप्रमुख कार्कीले कागेश्वरी मनोहराले देशमै पहिलो पटक यस्तो सेवा सुरु गर्नु केवल ठूलो उपलब्धि मात्र नभई सम्पूर्ण नगरवासीका लागि गर्वको विषय भएको बताए। उनले आगामी दिनमा सेवा अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

स्थानीय सरकारबाटै मालपोत तथा नापी सेवा सञ्चालनमा आएपछि संघीयताको अनुभूति नागरिकको घरदैलोमै पुग्ने विश्वास गरिएको छ। साथै भूमि प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउन यो अभ्यास देशका अन्य स्थानीय तहका लागि समेत उदाहरण बन्न सक्ने अपेक्षा गरिएको छ।

सो अवसरमा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी लगायत मालपोत कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।