काठमाडौं - धादिङको कृष्णभिरमा अवरुद्ध सडक आइतबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ । पहिरोका कारण केही समयदेखि त्यहाँ रोकिराखेको ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका केही सवारीसाधनलाई मात्र आवतजावत गराइएको छ । भित्तामा नालीको काम बाँकी भएकाले बिहीबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।
आवागमनलाई सहज बनाउन दुवै तर्फबाट डोजरले सडक सम्याउने काम गरिरहेको छ । त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध थियो । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले यात्रुवाहक सवारीसाधनलाई काठमाडौं–बाइरोड–नौबिसे–पालुङ–भैँसे तथा फर्पिङ–कुलेखानी हुँदै सञ्चालनको व्यवस्था गरेको र मालवाहक सवारीसाधनलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको छ।
हेटौंडा पुग्ने छोटो बाटो भए पनि साँधुरो सडक र अत्यधिक सवारी चापका कारण गन्तव्यमा पुग्न घन्टौ लाग्ने गरेको चालक तथा यात्रुहरुले बताएका छन् । कृष्णभिरको सडक दुईतर्फी सञ्चालन भएपछि काठमाडौं उपत्यकामा देखिएको ग्यासको अभाव अन्त्य हुने र यात्रुलाई पनि सहज हुने छ ।
।


0 comment