काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले निराशाजनक प्रदर्शनलाई अन्तिम खेलमा पनि रोक्न सकेन। लिग चरणको अन्तिम खेलमा कर्णाली याक्ससँग ३ रनले पराजित हुँदै जनकपुरले सिजन अंकतालिकाको पुछारमै समाप्त गरेको छ।
किर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन जोड्यो। जवाफमा जनकपुरले २० ओभर पूरा खेल्दा ७ विकेटको क्षतिमा १२६ रन मात्र बनायो।
जितका लागि जनकपुरलाई अन्तिम ओभरमा १४ रन आवश्यक थियो। तर उसले १० रन मात्र बनाउन सकेको थियो। त्यसक्रममा जनकपुरले थप २ विकेट गुमायो र खेल कर्णालीले रोमाञ्चक तीन रनले आफ्नो पक्षमा पार्यो।
जनकपुरका सञ्जय कृष्णमूर्तिले ३९ बलमा १ चौका र ४ छक्कासहित टोलीका लागि सर्वाधिक ५१ रन जोडे। संगीथ कोरीले ३२ बलमा २५ रन बनाए भने इटनले १३ रनको अविजित पारी खेले। तर इनिङ्सको सुरुआती भागमा तीव्र रूपमा विकेट पतन हुँदा जनकपुर दबाबमा परेको थियो।२९ रनमै ४ विकेट गुमाएको जनकपुरलाई कृष्णमुर्ति–कोरी जोडीले ७५ रनको साझेदारी गर्दै उबारेका थिए।
विलियम बोसिस्टोले २ विकेट लिए भने कप्तान सोमपाल कामीसहित मार्क वाट, पवन सर्राफ र नन्दन यादवले समान १–१ विकेट झारे।यस सिजन पहिलो खेल खेलिरहेका ओपनर इमरान शेखले ३२ बलमा ३३ रन बनाए। गुल्शन झाले १९, कप्तान सोमपालले १८, प्रियंक पञ्चलले १६, बोसिस्टोले १५ तथा नजिबुल्लाह जद्रानले १३ रनको योगदान दिए।
जनकपुरका ललित राजवंशी र आदित्य महताले २–२ विकेट लिए भने संगीथ कोरी, अनिल साह र माज सदाकतले १–१ विकेट लिए।
यस जितसँगै कर्णालीले सिजनमा दोस्रो जित दर्ता गर्दै ७ खेलबाट ४ अंक जोड्यो र छैटौँ स्थानमा रह्यो। समान ४ अंक भएको चितवन राइनोजभन्दा कर्णाली नेट रन–रेटमा अघि रह्यो।
डिफेण्डिङ च्याम्पियन जनकपुरले भने ७ खेलमा जम्मा १ जित मात्र निकाल्यो र २ अंकसहित पुछारमै सीमित रह्यो। उसले सिजनभरि चितवनलाई मात्र पराजित गरेको थियो।


0 comment