जेनजी आन्दोलनपछिको मुलुक अहिले संक्रमण अवस्थामा रहेको छ । सरकारले जसरी पनि चुनाव गराउने भनेर लागिपरेको छ भने प्रमुख राजनैतिक दलहरु चुनाव भन्दा पनि संसद पुर्नस्थापना हुनु पर्छ भन्ने पक्षमा रहेका छन । चुनावका लागि राजनैतिक दलहरुले दल दर्ता त गरे तर चुनाव हुँदैन भन्दै हिडिरहेका छन । यो व्यवस्था नै परिवर्तन गर्नु पर्छ गणतन्त्र र राजतन्त्रका विषयमा जनमत संग्रह गरेर मात्रै अगाडी बढदा राम्रो हुने भन्दै व्यवसायी दुर्गा प्रसाइको टिमले आन्दोलन गर्ने कुरा गरिरहेको छ । जेनजीहरु पनि एक ठाउमा छैनन । जेनजीहरुका बेग्लाबेग्लै समुहले विभिन्न मागहरु उठाइरहेको अवस्था छ । एकथरी जेनजी भन्दैछन प्रत्यक्ष कार्यकारी सहितको चुनाव हुनु पर्दछ अनिमात्र आन्दोलनको भावना समेटिन्छ नत्र २०८४ मा हुने चुनाव किन २०८२ मा नै गर्नु पर्ने ? अर्का थरी जेनजी भन्दैछन यही बाटोबाट यही संविधानबाट चुनाव गर्ने भ्रष्ट्रचारीलाई कारवाही गर्ने र चुनावबाट आएको सरकारले संविधान संसोधन लगायतका विषयमा काम गर्ने गर्दछ भनिरहेका छन । के मुलुकमा फेरी शासकीय स्वरुपको बारेमा वहस आवश्यक भएको हो ? के यो संविधानबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव सम्भव छ ? यदी छैन भने त्यसको लागि सरकारले के गर्नु पर्छ ? यी र यसता विषयले गर्दा चुनाव हुने आसंका गर्ने ठाउँ धेरै छन । 


सरकार राजनैतिक दल र जेनजीहरुको तालमेल समन्वय प्रभावकारी हुन नसक्दा चुनावको बारेमा अलमल हुने प्रष्ट छ । यदी यही अवस्थामा चुनाव भएमा विगत जस्तो राजाले गराएको चुनावको भयावह दोहोरिने पक्का छ । जेनजी आन्दोलनको मौका छोपेर जेलबाट भागेका कैदीहरुलाई सरकारले पुन पक्राउ गर्न अझै सकेको छैन । भागेका कैदी मध्यै केहीलाई पक्राउ गरेपनि अझै करिब ५ हजार कैदीबन्दी जेल बाहिरै भएको समाचारहरु आइरहेका छन । राजनैतिक दलहरुको सरोकार पनि यही विषयमा बढी छ । यतिधेरै कैदीबन्दी जेल बाहिर भएको अवस्थामा कसरी चुनाव हुन्छ ? 


अहिले जतिपनि अपराधिक घटनाहरु भएका छन ती सबै घटना जेलबाट भागेका कैदीहरुले गरेका समाचार ताजै छन । पूरा समय सजाय भूक्तान नगरी भागेका कैदीहरुबाट समाज नै त्रसित भइरहेको अवस्था मान्छे कसरी भोट हाल्न जान्छ  भन्ने कुराहरु पनि उठिरहेका छन । यता प्रहरीले भन्दैछ हामी जसरी पनि जेलबाट भागेका कैदीहरुलाई पक्राउ गछौं उनीहरु केही समय बाहिर भए तापनि हाम्रो अप्रेसन जारी छ । तर अहिले जेलबाट भागेका कैदीबाट पूरै समाज नै त्रास र भयमा रहेको बुझिन्छ । सरकारले निर्वाचनका लागि जसरी वातावरण बनाउनु पर्ने थियो त्यसरी वातावरण नबनेको गुनासो चौतर्फी देखिदैछ । 


दिनदाहाडै समाजमा हत्या हिंसा बढीरहेको र त्यसलाई नियन्त्रण गर्न सरकार चुकिरहेको धेरैको ठम्याइ छ । जेलबाट भागेर गएका कैदीबाट तस्रिरहेको समाजले चुनावमा कसरी सहभागिता जनाउला भन्ने आसंका उब्जिरहेको अवस्थामा सरकारले विशेष अप्रेसन चलाएर मानिसलाई भयसहित अवस्था छ भन्ने महसुस गराउन जरुरी छ । सरकार के मा अलमलिरहेको छ ? न भ्रष्ट्रचारीलाई समाउन सकेको छ ? न आन्दोलनमा जनधनको क्षति गर्न भूमिका खेल्नेहरुलाई समान सकेको छ ? तत्कालिन सत्ताको नेतृत्वमा रहेकाहरुलाई स्पष्टीकरण सोध्न समेत सरकार हच्कीरहेको अवस्थामा कसरी भयरहित वातावरण बन्ला ? आम चासोको विषय भएको छ । अहिलेको अवस्थामा जेनजीहरु पनि विभिन्न भागमा विभाजित हुनु भन्दा पनि एकैठाउमा आएर एउटै स्वरमा आफ्ना मागप्रति अडिग हुनु जरुरी छ भने सरकारले पनि चुनावबाट भयरहित वातावरण बनाउन निकै धेरै काम गर्नुपर्ने अवस्था छ । 

सबै भन्दा पहिला सरकारले भागेको कैदीहरुलाई विशेष अप्रेसनबाट जेलमा फर्काउने र अपराधिका क्रियाकलापलाई नियन्त्रण गर्ने काम गर्नुपर्दछ । समाजलाई त्रासबाट बाहिर निकाल्न सरकारको मुख्य दायित्व हुनु जरुरी छ । राजनैतिक दलहरुले पनि एक अर्कालाई कटाक्ष गरेर समाय खेर फाल्नु भन्दा पनि आफ्ना जाहेज माग जनतासामु लैजाने र चुनावी माहोल बनाउने ध्यानमा लाग्नु जरुरी छ । अहिलेको अवस्थामा चुनाव निर्विकल्प मार्ग भएको हुनाले सोही अनुसार सबै सरोकार राख्ने पक्ष एकठाउमा आउन जरुरी छ । यदी कुनै पनि वाहानामा चुनाव नहुने अवस्था भएमा यो मुलुक अर्को अस्थिरतामा फस्ने पक्का छ । मुलुक अस्थिरतामा गयो भने सबैले दुख पाउने निश्चित छ । त्यसैले निर्विकल्प चुनावका लागि सबै पक्षको गम्भीर ध्यान हुनु पर्दछ ।