काठमाडौं - ब्रिटेनका राजा चार्ल्सले भाइ एन्ड्रूलाई राजसी उपाधिबाट वञ्चित गर्ने र उनलाई विन्डसरस्थित दरबार सम्पत्तिबाट निष्कासन गर्ने प्रक्रिया सुरु गरेर असाधारण कदम चालेका छन्

। यो कदम राजकुमार एन्ड्रूको नाम कुख्यात यौन अपराधी जेफ्री एप्स्टिनसँग जोडिएको काण्डलाई शान्त पार्ने सबैभन्दा नाटकीय प्रयास मानिएको छ ।

बकिङ्घम प्यालेसले यसलाई “आवश्यक अनुशासनात्मक कारबाही” भन्दै उल्लेख गरेको छ । यसले पछिल्ला दशकहरूमा ब्रिटिश शाही परिवारभित्रको सबैभन्दा ठूलो दरारलाई औपचारिक बनाएको छ । अब प्रश्न उठेको छ । के यो कदमले एप्स्टिनसँग एन्ड्रूको सम्बन्धले राजतन्त्रलाई थप संकटमा पार्नबाट जोगाउनेछ ?

६५ वर्षीय एन्ड्रूले एप्स्टिनसँगको मित्रताको कारण पछिल्ला १५ वर्षदेखि आलोचनाको सामना गर्दै आएका थिए । यो विवाद भर्जिनिया ग्युफ्रेले मृत्युपश्चात प्रकाशित आत्मकथामा एन्ड्रूले आफू किशोरी हुँदा यौन दुर्व्यवहार गरेको आरोप दोहोर्याएपछि फेरि तीव्र बनेको हो ।

ग्युफ्रे जसलाई एन्ड्रूले “कहिल्यै भेटेको छैन” भनेर दाबी गरेका थिए । यस वर्ष अप्रिलमा ४१ वर्षको उमेरमा आत्महत्या गरिन् । एन्ड्रूले ती सबै आरोप अस्वीकार गर्दै आएका छन् । ग्युफ्रेको परिवारले बिहीबार दिएको वक्तव्यमा भनेको छ: “आज एउटा साधारण अमेरिकी युवतीले आफ्ना सत्य र अद्भुत साहसले एक ब्रिटिश राजकुमारलाई ढालिन् ।”

बकिङ्घम प्यालेसले प्रकाशित वक्तव्यमा भनेको छ, “महाराजले आज राजकुमार एन्ड्रूको सबै उपाधि, सम्मान र शैली हटाउने औपचारिक प्रक्रिया सुरु गर्नुभएको छ ।”

अब उनलाई “एन्ड्रू माउन्टब्याटन विन्डसर” नामले चिनिनेछ । उनले बसेको विन्डसरको रोयल लजको पट्टा अब फिर्ता लिन औपचारिक सूचना दिइएको छ । उनलाई स्यान्ड्रिङ्घम सम्पत्तिभित्रको निजी आवासमा सारिनेछ ।
“यी कारबाहीहरू आवश्यक ठहरिएका छन्, यद्यपि उनले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्न जारी राखेका छन्,” वक्तव्यमा भनिएको छ ।

एन्ड्रूलाई लन्डनबाट करिब १०० माइल टाढा रहेको स्यान्ड्रिङ्घम सम्पत्तिमा सारिने तयारी गरिएको छ, जुन राजा चार्ल्सको निजी स्वामित्वमा रहेको क्षेत्र हो । एन्ड्रूको नयाँ बासस्थान पनि राजाको निजी कोषबाट खर्च हुनेछ ।
शाही दरबारले स्वीकार गरे पनि कि एन्ड्रूले सबै आरोप अस्वीकार गरिरहेका छन्, उनीबाट “गम्भीर निर्णयगत गल्तीहरू” भएका निष्कर्षमा पुगेपछि यो कदम चालिएको जनाइएको छ ।

एन्ड्रूले यसै महिनाको सुरुवातमा आफ्ना उपाधिहरू स्वेच्छाले त्यागेर विवाद कम गर्न खोजेका थिए, तर त्यसले नकारात्मक समाचार रोक्न सकेन । उनले सन् २०२२ मा भर्जिनिया ग्युफ्रेलाई दिएको भनिएको करोडौं पाउण्ड बराबरको क्षतिपूर्ति कसरी तिरे भन्नेबारे पनि प्रश्न उठेका छन् ।

जनतामा आक्रोश त्यसपछि अझ बढ्यो जब उनका रोयल लज सम्पत्तिबारे विवरण बाहिर आए । उनले सन् २००३ मा केवल एक मिलियन डलरमा यो सम्पत्ति लिएका थिए र वार्षिक भाडा “मागिएमा मात्र” तिर्ने सर्तमा पट्टा लिएका थिए ।
यद्यपि उनलाई सबै उपाधिबाट हटाइए पनि, एन्ड्रू अझै पनि ब्रिटिश राजगद्दीको उत्तराधिकार सूचीमा आठौं स्थानमा छन् । यो स्थिति हटाउन कानूनी प्रक्रिया आवश्यक पर्छ, जसका लागि सबै कमनवेल्थ राष्ट्रहरूको सहमति चाहिन्छ ।

राजा चार्ल्सले संसदमार्फत होइन, राजकीय आदेशमार्फत एन्ड्रूको यर्क, इन्भरनेस र किलीलेघसँग सम्बन्धित उपाधिहरू हटाउने तयारी गरिरहेका छन् । यससँगै उनीसँग रहेका अन्य सम्मानहरू पनि स्वतः खारेज भएका छन् ।
बकिङ्घम प्यालेसले अन्त्यमा भनेको छ, “महाराज र महारानीका भावना र सहानुभूति सधैं यौन हिंसा वा दुराचारका सबै पीडितहरूसँग रहनेछन् ।”

ग्युफ्रेको परिवारले भनेका छन्, उनीहरूले एप्स्टिनसँग सम्बन्धित अरू अपराधीहरूलाई पनि न्यायको सामना गराउन लडाइँ जारी राख्नेछन् ।
“हाम्रो बहिनीले, जब उनी बालिका थिइन्, एन्ड्रूद्वारा यौन शोषण सहिन् । उनले कहिल्यै न्यायका लागि संघर्ष गर्न छोडिनन् । आज उनले आफ्नो जित हासिल गरिन्,” वक्तव्यमा भनिएको छ ।

यसबीच “रिपब्लिक” नामक गणतन्त्र समर्थक समूहले एन्ड्रू विरुद्ध यौन अपराध र सार्वजनिक पदको दुरुपयोगको आरोपमा निजी मुद्दा दायर गर्ने घोषणा गरेको छ ।