काठमाडौं - हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरण अन्तर्गत सोमबार बन्धक रिहा गरिने जनाएको छ ।

यसै क्रममा गाँजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ । उक्त सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाईम्स अफ इजरायलले जनाएको छ । टाइम्स अफ इजरायलले जारी गरेको २२ जना जीवितको सूचीमा विपिन पनि रहेको उल्लेख गरेको छ ।

शुक्रबार सुरु भएको नयाँ युद्धविराम जसको पहिलो चरण सुरु भइसकेको छ । यसलाई दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्यतर्फको महत्वपूर्ण कदम मानिएको छ । यो युद्ध ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको थियो जसमा करिब १ हजार २ सय जनाको हत्या र २ सय ५१ जनाको अपहरण गरिएको थियो।

हाल गाजामा ४८ जना बन्धकहरू रहेका छन् जसमा सन् २०१४ मा मारिएका एक सैनिकको शव पनि समावेश छ।

इजरायली अधिकारीहरूले पुष्टि गरेका छन् कि कम्तीमा २५ जना बन्धकहरूको हत्या ७ अक्टोबर २०२३ मा नै गरिएको थियो वा उनीहरूको मृत्यु बन्दी अवस्थामै भएको हो। अहिले बाँकी रहेका बन्धकहरूमध्ये केवल एक जना महिला बन्धक छन् । जसको पनि इजरायलले मृत्यु भएको विश्वास गरेको छ।

युद्धविराम र बन्धक मुक्ति सम्झौतामा २० जीवित बन्धक र २८ मृतक बन्धकका शवहरू फिर्ता गर्ने प्रावधान समावेश गरिएको छ।

२८ जना मृतक बन्धकहरूको समावेशले दुई बन्धकको मृत्यु भएको सङ्केत गरेको छ जसको अवस्थाबारे इजरायलले अघिल्लो पटक गम्भीर चिन्ता व्यक्त गरेको थियो तर औपचारिक रूपमा भने मृत घोषित गरेको थिएन।

मे महिनामा इजरायलले तीन जना बन्धकको जीवनबारे चिन्ता व्यक्त गरेको थियो । इजरायली सैनिक तमिर निम्रोदी, नेपाली नागरिक विपिन जोशी र थाई नागरिक पिन्ता नट्टापोङ्ग। नट्टापोङ्गको शव जुन महिनामा गाजाबाट फिर्ता गरिएको थियो।

शुक्रबार सुरु भएको युद्धविरामसँगै बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र मुक्त गरिने अपेक्षा गरिएको छ। यसको सट्टामा इजरायलले करिब २ हजार जना प्यालेष्टेनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको छ।