सडकको ढुंगामा छापिएको पाइला,

जुन पाइला केवल हिँडाइ होइन,

यो त विद्रोहको नाङ्गो स्वर हो—

अन्याय, भ्रष्टाचार र अवसरवाद विरुद्धको।

 

Gen Z का छोराछोरीहरू

बिस्तारै किताबका अक्षरहरूबाट

सडकका नारा बन्न पुगे,

कलमका रेखाहरूबाट

हातका मुठ्ठी बन्न पुगे।

 

तर,

त्यो बिहान, त्यो साँझ

देशले देख्यो—

विद्यार्थीका सपनाहरू च्यातिएका,

उनको ज्यान भुइँमा पसारिएको।

 

रगतको रंगले रातो भयो सडक,

जसले संकेत दियो—

यो आन्दोलन अब केवल हाकाहाकी होइन,

यो त मुटु चिरिएको चित्कार हो।

 

हे शासक!

तिमी किन यति निर्दयी भयौ?

विद्यार्थीको प्रश्नलाई जवाफले होइन,

गोलीले किन भेट्टायौ?

आँसु ग्यास र लाठ्ठीमा किन

तिमीलाई आफ्नै भविष्य देखिएन?

 

मरेको त्यो विद्यार्थी

केवल एउटै नाम होइन—

उनी हजारौँ सपना हुन्,

लाखौँ आँखामा भरिएका

भोलिका आकाङ्क्षा हुन्।

 

त्यो मृत शरीरलाई काँधमा बोकेर

सडकमा रोए Gen Z का साथीहरूले,

रोए आमाहरू,

रोए पिताहरू,

र देशको आत्मा नै चिच्यायो—

“अब यो रगत खेर जान दिने छैनौँ।”

 

हो,

रगतले लेखिएको आन्दोलन

सस्तो नारा होइन,

यो त क्रान्तिको गहिरो शपथ हो।

हराएका ती जीवनले

आफ्नो आवाज हामीलाई सुम्पेका छन्,

भोलि न्याय र समानताको

नयाँ इतिहास लेख भन्नका लागि।

 

Gen Z,

तिम्रो आँसु कमजोर होइन,

यो आँसु नै बारुद हो।

तिम्रो रगत केवल बलिदान होइन,

यो रगत नै भविष्यको सम्झौता हो।

 

र एकदिन,

देशले सम्झनेछ—

विद्यार्थीको चिहानमाथि फुल मात्र होइन,

नयाँ युगको बिहान खस्नेछ।

त्यो बिहानमा कुनै अवसरवादीको हाँसो हुनेछैन,

त्यो बिहानमा केवल सत्य,

न्याय र जनताको जित हुनेछ।