काठमाडौं - पूर्वी अफगानिस्तानमा आएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ८ सयभन्दा बढी पुगेको छ ।  हजारौं घाइते भएका छन् । भुकम्पपछि  मानिसहरूले खुला आकाशमुनि रात बिताएका छन् ।  उद्धार कार्य अहिले पनि जारी छ।

धेरैजसो मृत्यु पर्वतीय कुनार प्रान्तमा भएका छन् ।  सो क्षेत्र आइतबार राति आएको ६.० रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दुको सबैभन्दा नजिक थियो। अधिकारीहरूले सम्पूर्ण गाउँहरू ध्वस्त भएको हुँदा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।

धेरै देशहरूले सहयोगको प्रतिज्ञा गरिसकेका छन् तर केही गाउँहरू अझै पनि पहुँच बाहिर रहेका छन् र स्थानीय स्वास्थ्य संस्थाहरु चापमा परेका छन्।

यो विपत्ति अफगानिस्तान गम्भीर खडेरी,सहयोग कटौती र विश्व खाद्य कार्यक्रमले अभूतपूर्व भोकमरी सङ्कट भनेर वर्णन गरेको अवस्था बीच आएको हो।

भूकम्प आइतबार राति स्थानीय समयअनुसार २३:४७ मा आएको हो ।  देशको पाँचौं ठूलो शहर जलालाबाददेखि करिब २७ किलोमिटर (१७ माइल) पूर्व, नंगरहार प्रान्तमा भुकम्प गएको थियो।