काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा सिटी र वरपरका क्षेत्रमा पुष्टि भएको भोकमरीलाई मानवताको असफलता भनेर वर्णन गरेका छन्।

गुटेरेसले संयुक्त राष्ट्रसंघ समर्थित निकायले गाजाको केही क्षेत्रमा खाद्य असुरक्षालाई विश्वकै सबैभन्दा उच्च स्तर फेज ५ मा पुर्याएपछि यसलाई मानव निर्मित विपत्ति भनेका हुन्।

इण्टिग्रेटेड फूड सेक्युरिटी फेज क्लासिफिकेशनका अनुसार गाजामा पाँच लाखभन्दा बढी मानिस भोकमरी, दयनीय अवस्था र मृत्यु” जस्ता विपद्को स्तरमा पुगेका छन्।

तर इजरायलले भने यस प्रतिवेदनलाई  झूट भन्दै गाजामा भोकमरी नरहेको दाबी गरेको छ।

संयुक्त राष्ट्रका अनुसार इजरायलले गाजामा जाने राहत सहयोग अझै पनि सीमित गरिरहेको छ। तर इजरायलले यसलाई पनि अस्वीकार गरेको छ।

तर यी दाबीहरू प्रत्यक्षदर्शी, सयभन्दा बढी मानवतावादी समूह, विभिन्न संयुक्त राष्ट्र निकाय र इजरायलका आफ्नै सहयोगी राष्ट्रहरूको भनाइसँग पूर्णतया विरोधाभास छन्।

इण्टिग्रेटेड फूड सेक्युरिटी फेज क्लासिफिकेशले चेतावनी दिएको छ कि तत्काल ठूलो स्तरको राहत नपुग्ने हो भने भोकमरीका कारण हुने मृत्यु अस्वीकार्य स्तरसम्म बढ्नेछ।

अगस्ट मध्यदेखि सेप्टेम्बरको अन्त्यसम्म गाजामा भोकमरी देइर अल-बलाह र खान युनिससम्म फैलिनेछ।

यस अवधिमा गाजाको लगभग एक तिहाइ जनसंख्या  करिब ६ लाख ४१ हजार  मानिस  विपद्को अवस्थामा पर्नेछन् भने आपतकालीन अवस्था फेज 4 मा पर्नेहरूको सङ्ख्या बढेर १.१४ मिलियन अर्थात ५८ प्रतिशत पुग्नेछ।

प्रतिवेदनले यो पनि प्रक्षेपण गरेको छ कि सन् २०२६ जुनसम्म पाँच वर्षमुनिका १३ हजार २ हजार बालबालिकाको जीवन कुपोषणले जोखिममा पार्नेछ।

युद्ध सुरु भएदेखि हालसम्म गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार २ सय ७१ जना जसमध्ये ११२ बालबालिका कुपोषणका कारण मृत्यु भइसकेका छन्।

सन् २००४ मा इण्टिग्रेटेड फूड सेक्युरिटी फेज क्लासिफिकेशले स्थापना भएदेखि हालसम्म केवल चार पटक मात्र औपचारिक भोकमरी घोषणा भएको छ। पछिल्लो पटक सुदानमा २०२४ मा घोषणा गरिएको थियो ।

इण्टिग्रेटेड फूड सेक्युरिटी फेज क्लासिफिकेशले औपचारिक रूपमा भोकमरी घोषणा गर्न सक्दैन ।  यो प्रायः सम्बन्धित सरकार वा संयुक्त राष्ट्रले गर्ने  गर्छ।

संयुक्त राष्ट्र महासचिव गुटेरेसले भने “जब लाग्छ गाजाको जीवनलाई नर्क वर्णन गर्न नयाँ शब्द बाँकी छैन त्यतिबेलै अर्को थपिएको छ भोकमरी । यो कुनै रहस्य होइन यो मानव निर्मित विपत्ति हो,नैतिक असफलता हो र मानवताको नै असफलता हो।”

उनी भन्छन् “इजरायलमाथि अन्तर्राष्ट्रिय कानुनअनुसार स्पष्ट दायित्व छ कि जसमा गाजाबासीलाई पर्याप्त खाना र औषधि उपलब्ध गराउनुपर्ने कर्तव्य पर्छ।”

युएनआरडब्लुएका प्रमुख फिलिप लाज्जारिनीले भने “यो योजनाबद्ध भोकमरी हो, जुन इजरायल सरकारले बनाएको हो।”

संयुक्त राष्ट्र मानवअधिकार प्रमुख भोल्कर टर्क ले भने “यो भोकमरी इजरायल सरकारको प्रत्यक्ष कार्यको परिणाम हो जसले सहयोग प्रवेशलाई अवैध रूपमा रोक्यो।”

बेलायतका विदेशमन्त्री डेभिड लाम्मी ले भोकमरीलाई “नैतिक अपमान” भने। उनले एक्समा लेखेका छन् “गाजामा पर्याप्त राहत प्रवेश गर्न नदिने इजरायल सरकारकै कारण यो मानव निर्मित विपत्ति भएको हो।”

तर इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहू ले भने “इजरायलको नीति भोकमरी गराउने होइन, भोकमरी रोक्ने हो। युद्ध सुरु भएदेखि गाजामा २० लाख टन राहत प्रवेश गर्न दिइएको छ  जसले गर्दा प्रति व्यक्ति एक टनभन्दा बढी पुग्छ।”

यद्यपि पछिल्ला महिनामा गाजाको राहत अवस्थाबारे इजरायलले अन्तर्राष्ट्रिय रूपमा कडा आलोचना खेप्नुपरेको छ।

गत महिनामात्रै बढ्दो दबाबका बीच इजरायली सेनाले गाजामा हवाईमार्गबाट राहत सामग्री झारेको थियो  तर राहत संस्था र समूहहरूले यसलाई हास्यास्पद ढाँटका रूपमा गरिएको प्रपञ्च भनेर आलोचना गरेका थिए।