काठमाडौं - घट्दो जन्मदरको चुनौती सामना गर्दै आएको चीनले बच्चा हुर्काउने अभिभावकलाई वार्षिक नगद भत्ता दिने भएको छ।
सरकारले मंगलबार सार्वजनिक गरेको राष्ट्रव्यापी योजना अनुसार हरेक सन्तानका लागि परिवारलाई वर्षेनि ३ हजार ६ सय युआन (झण्डै ५०३ अमेरिकी डलर) उपलब्ध गराइनेछ। यो सहयोग बच्चा तीन वर्ष पुग्दासम्म र अधिकतम तीन जना सन्तानसम्मका लागि लागु हुनेछ।
राज्य परिषद्का अनुसार नयाँ योजनाबाट वार्षिक करिब २ करोड परिवार लाभान्वित हुने अनुमान छ। विशेष कुरा के छ भने, यो भत्ता करयोग्य आम्दानीमा गणना नहुने र अन्य सामाजिक सेवा वा सहायता योजनामा प्रभाव नपार्ने बताइएको छ।
चीनमा सात वर्षदेखि लगातार जन्मदर घटिरहेको छ। यद्यपि सन् २०२४ मा केही सामान्य सुधार देखिएको थियो। त्यसैबीच, सो वर्षको अन्त्यसम्म ६० वर्षभन्दा माथिको जनसंख्या ३१ करोड पुगेको छ, जसले चिनियाँ जनसंख्यामा वृद्धहरूको अनुपात तीव्र रूपमा बढेको देखाउँछ।
एक समय ‘एक सन्तान नीति’ लागू गरेको चीनले सन् २०१६ मा दुई सन्तान र सन् २०२१ मा तीन सन्तान नीतिको घोषणा गरेको थियो। तर, ती नीतिहरूबाट अपेक्षित नतिजा नआएपछि सरकारले सिधै आर्थिक भत्तामार्फत अभिभावकलाई प्रोत्साहित गर्ने निर्णय गरेको हो।
यसअघि चीनका केही स्थानीय सरकारहरूले बालबालिकाका लागि नगद भत्ता दिने छुट्टाछुट्टै कार्यक्रम चलाइरहेका थिए।


0 comment