काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेको छ। आईसीसीको हालै सम्पन्न वार्षिक कन्फरेन्समा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरे।

क्यानले लगातार दोस्रो वर्ष यो अवार्ड जित्न सफल भएको हो। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, यो उपलब्धिले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाएको छ।

अवार्डको ग्लोबल छनोट चरणमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट इन्डोनेसिया छनोटमा परेका थिए। ती क्षेत्रीय विजेताहरूमध्ये नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड हात पार्न सफल भयो।

डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड आईसीसीले हरेक वर्ष क्रिकेट बोर्डहरूद्वारा प्रशंसकहरूसँग गरिएको डिजिटल संलग्नता, नवप्रवर्तन र सामाजिक सञ्जालको प्रभावकारितालाई मूल्याङ्कन गरी प्रदान गर्दै आएको छ। नेपाल क्रिकेट संघको यो सफलतालाई देशभरि सकारात्मक रूपमा लिइएको छ।