काठमाडौं - बेलायतका १ सय भन्दा बढी अधिकारीहरूको विवरण खुलासा भएको छ । डाटा चुहावट घटनामा विशेष बल र एम १६ का सदस्यहरूको समेत संवेदनशील विवरण बाहिरिएको पाइएको बीबीसीले उल्लेख गरेको छ।
यो डाटा चुहावटले हजारौं अफगानी नागरिकलाई पनि जोखिममा पारेको छ जसलाई बेलायती सरकारसँग काम गरेको आरोपमा तालिबानको प्रतिशोधको डर छ।
यस डाटा चुहावटको परिणाम गोप्य राखिएको थियो तर बिहीबार एक उच्च अदालतको न्यायाधीशले आदेशको केही अंश हटाएपछि मिडिया संस्थाहरूले यसबारे रिपोर्ट गरेका हुन् ।
उक्त डाटाबेसमा भएका विस्तृत विवरणहरूले विशेष बल र गुप्तचरहरूको व्यक्तिगत तथा गोप्य विवरण समेत समावेश गरेको छ ।
बेलायती सरकारले मंगलबार नै स्वीकार गरिसकेको थियो कि अफगानिस्तानमा बेलायती सरकारसँग २० वर्षे युद्धको अवधिमा काम गरेका करिब १९ हजार अफगानीहरूको विवरण अनाहकमा चुहिएको हो। ती सबैले बेलायतमा पुनःस्थापनाको लागि आवेदन दिएका थिए।
यस घटनाले धेरैलाई गम्भीर खतरा उत्पन्न भएको छ । यहाँसम्म कि मृत्युको सम्भावना पनि भएको मूल्याङ्कन गरिएको छ किनकि तालिबानले बेलायतीहरूका लागि काम गर्नेहरूलाई निशाना बनाइरहेका छन्।
यही जोखिमका कारण यो सूचना सुपर-इन्जङ्सन अन्तर्गत सुरक्षित गरिएको थियो । यस्तो कानुनी आदेश जसले केवल सूचना मात्र होइन,उक्त आदेशको अस्तित्व समेत रिपोर्ट गर्न निषेध गर्दछ।
डाटा चुहावट सन् २०२२ को फेब्रुअरीमा भएको थियो तर बेलायती सरकारले यसलाई २०२३ को अगस्टसम्म पत्ता लगाउन सकेन। तर अफगानिस्तानमा कसैले ती विवरण फेसबुकमा पोस्ट गरेर बाँकी डाटा पनि सार्वजनिक गर्नसक्ने संकेत गरे।
बिबिसीले बुधबार खुलासा गरेको अनुसार उक्त व्यक्ति जसले फेसबुकमा डाटा पोष्ट गरेका थिए उनीसँगको आवेदन प्रक्रिया छिटो पारिएको थियो र उनलाई बेलायत ल्याइएको थियो। सरकारी स्रोतहरूले यो घटनालाई प्रायः ब्ल्याकमेलजस्तो पनि भनेका छन्।
बेलायती रक्षा मन्त्रालयले उक्त व्यक्तिको कदमबारे टिप्पणी गर्न अस्वीकार गर्यो तर कि अफगान पुनःस्थापनाका कुनै पनि योजनामार्फत बेलायत आउने सबै व्यक्तिहरू कडा सुरक्षा जाँचको प्रक्रियाबाट गुज्रनै पर्ने बताएको छ ।
२०२३ मा डाटा चुहावट पत्ता लागेपछि सरकारले गोप्य रूपमा अफगानिस्तान रेस्पोन्स रूट नामक पुनःस्थापना योजना सुरू गर्यो। तर प्रभावित व्यक्तिहरूलाई उनीहरूको जानकारी चुहिएको भन्ने सूचना दिइएन यद्यपि उनीहरूको सुरक्षामा गम्भीर खतरा थियो।
४५०० भन्दा बढी अफगानीहरू बेलायतमा पुनःस्थापित, ८५० मिलियन युरो खर्च अनुमान
यस योजनामार्फत हालसम्म ४५०० अफगानी नागरिक र उनीहरूका परिवारका सदस्यहरू बेलायत आइसकेका छन् भने थप २४०० जना आउने अपेक्षा गरिएको छ। कुल अनुमानित खर्च ८५० युरो मिलियन रहेको छ।
यो डाटा चुहावट एक दुर्घटनावश भएको थियो जब लन्डनस्थित यूके स्पेशल फोर्सेसको मुख्यालयमा कार्यरत एक व्यक्तिले गल्तीले ३० हजार भन्दा बढी पुनःस्थापनाका आवेदनहरू सरकार बाहिरको एक व्यक्तिलाई इमेल गरेका थिए ।
मंगलबार संसदमा बोल्दै रक्षा मन्त्री जोन हीलीले यो डाटा चुहावटलाई गम्भीर विभागीय त्रुटि भनेका छन् र यो अफगान पुनःस्थापनासँग सम्बन्धित धेरै डाटा चुहावटहरूमध्ये एक भएको स्वीकार गरे।
छायाँ रक्षा मन्त्री जेम्स कार्टलिजले यो चुहावट पत्ता लागेको बेला सत्तामा रहेको पूर्व कन्जर्भेटिभ सरकारको तर्फबाट क्षमा याचना गरे।
रक्षा मन्त्रालयले यो डाटा चुहावटका कारण अफगानिस्तानमा कति व्यक्तिहरूलाई हानी पुगेको छ भन्ने बारे जानकारी दिन अस्वीकार गरेको छ।
तर तालिबान सरकारले भने बिहीबार एक बक्तब्य जारी गर्दै उक्त चुहावटबाट प्रभावित अफगानीहरूलाई न त पक्राउ गरिएको न त निगरानी गरिएको दाबी गरेको छ।



0 comment