काठमाडौं - एएफसी महिला एसियन कप छनोट अन्तर्गत श्रीलंका विरुद्धको खेलमा पनि कप्तान सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक गरेकी छन् ।
उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० गोलअन्तरको फराकिलो जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै नेपालले दुई खेलमा ६ अङ्क बटुलेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले हराएको थियो ।
नेपालको जितमा साम्बाले ह्याट्रिक पूरा गरिन् भने गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक/एक गोल गरे । खेलको सातौँ मिनेटमा नेपालले पहिलो अग्रता लियो । अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन् ।
खेलको २० औं मिनेटमा अग्रता दुगुना हुँदा साम्बाले बक्स भित्रबाट गोल गरिन्। ४२ औं मिनेटमा रश्मिकुमारी घिसिङको कट ब्याकमा बक्स भित्रबाट साम्बाको उत्कृष्ट भलि गोलमा परिणत भयो।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्।
खेलको ५३औँ मिनेटमा श्रीलङ्काकी सचिना डि सिल्भाले नेपालकी रश्मीकुमारी घिसिङलाई लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएको थियो । जसमा गीताले पेनाल्टीमा गोल गरिन् ।
खेलको ६२औँ मिनेटमा निशाले हेड गोल गरिन् । खेलको ७८औँ मिनेटमा सब्स्टिच्युट खेलाडी पूजा रानाको क्रसमा अर्की सब्स्टिच्युट फर्वाड रेखाले गोल गरिन् ।
त्यसपछि खेलको ८९औँ मिनेटमा पूजाले एक गोल थपेसँगै नेपालले श्रीलङ्कामाथि ८–० गोलको जित हासिल गर्यो । अब नेपालले शनिबार समूह चरणको अन्तिममा घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ ।
पराजित श्रीलङ्काको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलङ्का घरेलु टोली उज्वेकिस्तानसँग १०–० गोलअन्तरले पराजित भएको थियो ।
नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो।
फिफा वरियतामा नेपाल श्रीलंका भन्दा ५९ स्थान माथि छ। नेपाल एक सयौं र श्रीलंका १ सय ५९ औं स्थानमा छ।


0 comment