काठमाडौं - इस्ट जोन कप यू-१६ क्रिकेटमा नेपालले इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

क्वालालम्पुरस्थित सेलाङ्गोर ट्रफ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको थियो ।

नेपालले दिएको ४२१ रनको विजयी लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो ।

इन्डोनेसियाका लागि ओपनर ब्याटर काभिन नीरज चड्डाले सर्वाधिक १५ रन बनाए । दिभित नन्दाले १४ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

२४ ओभर सकिँदा इन्डोनेसियाले ८ विकेट गुमाउँदै ५० रन पूरा गरेको थियो । त्यसपछि २५औं ओभरमा कप्तान विपिन शर्माले लगातार २ विकेट लिँदै इन्डोनेसियालाई ५० रनमा प्याक गरेका हुन् ।

नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ६ विकेट लिए । उनले ७.३ ओभरमा २ मेडनसहित १२ रन खर्चेर ६ विकेट लिए । सुगम बुढाथोकी र शुभम् खनालले समान १-१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि व्यक्तिगततर्फ ओपनर प्रसिद्ध जैशीले सर्वाधिक १३२ रनको शतकीय पारी खेले । उनले ११४ बलमा १५ चौका र १ छक्का प्रहार गरे ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ ।