काठमाडौं - अमेरिकाको आक्रमणको जवाफमा इरानले शक्तिशाली आक्रमणहरु सुरु गरेको घोषणा गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इरानकव सरकारी स्वामित्वको तास्नीम समाचार एजेन्सीका अनुसार इरानको इरानियन रिभोलुसनरी गार्डले कतार र इराकमा रहेको अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको छ। कतारमा विस्फोटको आवाज सुनिएको रिपोर्टहरू आएका छन्।
कतार सरकारले अल-उदीद एयर बेसमा भएको आक्रमणको कडा निन्दा गरेको छ।
कतारको विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता माजेद अल-आन्सारीले एक्समा लेखेका छन् "हामी यो आक्रमणलाई कतारको सार्वभौमिकता,हवाईक्षेत्र,अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको घोषणापत्रको खुला उल्लङ्घनको रूपमा लिन्छौं।"
उनले भनेका छन् कि कतारको हवाई प्रतिरक्षा प्रणालीले आक्रमणलाई सफलतापूर्वक विफल पार्यो र इरानी मिसाइलहरू रोकिएको छ र अड्डा पूर्वसावधानी स्वरूप खाली गरिएको थियो।
उनले भने अड्डामा रहेका सबै व्यक्तिहरू, कतारी सशस्त्र बलका सदस्यहरू, मित्रराष्ट्रका फौज र अन्यको सुरक्षाका लागि आवश्यक सबै कदमहरू उठाइएको थियो।
यस आक्रमणबाट कुनै घाइते वा मानव क्षति नभएको कतारले जनाएको छ ।
कतारले यो नाङ्गो आक्रमणको स्वरूप र स्तरअनुसार प्रतिक्रिया जनाउने अधिकार सुरक्षित राख्ने कतारको प्रतिक्रिया छ ।
कतारको राजधानी दोहाको नजिक रहेको अल उदीद अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको हवाइ अपरेसनको मुख्यालयको रूपमा प्रयोग हुन्छ र त्यहाँ करिब ८ हजार अमेरिकी सैनिक तैनाथ छन्।
ब्रिटिस फौजहरू पनि यो अड्डामा पालैपालो उपस्थित हुने गर्छन् जसलाई कहिलेकाहीं अबु नख्ला एयरपोर्ट भनेर पनि चिनिन्छ।
यो सैन्य अड्डा अहिले इराकमा भइरहेको अमेरिकी सैन्य अपरेसनको मुख्यालय र रसद केन्द्रको रूपमा प्रयोग भइरहेको छ र यस क्षेत्रमा सबैभन्दा लामो हवाई अवतरण पट्टी समेत छ।
कतारले सन् २००० मा अमेरिकालाई अल उदीद बेस प्रयोग गर्न अनुमति दिएको थियो। त्यसपछिको वर्ष सन् २००१ मा अमेरिकी सेनाले यस बेसको नियन्त्रण लिएपछि दोहा र वाशिंगटनबीच सन् २००२ को डिसेम्बरमा एक औपचारिक सम्झौता भएको थियो। जसले अल उदीद बेसमा अमेरिकी सैनिकहरूको उपस्थितिलाई आधिकारिक मान्यता दिएको थियो। यो जानकारी लन्डनस्थित खुफिया संस्था ग्रे डाइनामिक्सले दिएको हो।
अमेरिका र कतारबीच भएको नयाँ सम्झौताले अमेरिकी सैनिकहरूको उपस्थितिलाई थप १० वर्षका लागि विस्तार गरेको छ।
यसैबीच बेलायतका सशस्त्र बल मन्त्री लुक पोलार्डले युके संसदको तल्लो सदन (हाउस अफ कमन्स) मा बेलायती सैन्य अड्डाहरूको सुरक्षा सम्बन्धी वक्तव्य दिएका छन्।
उनले यो एक छिटो बदलिँदो परिस्थिति हो र हामी यसलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।
उनले ती क्षेत्रभित्र रहेका आफ्ना सैन्यकर्मीहरूको सुरक्षाका लागि उच्चतम स्तरको सुरक्षा सतर्कता लागू गरेको र सशस्त्र बलका सदस्यहरूको सुरक्षा पहिलो प्राथमिकता भएको बताएका छन् ।



0 comment