काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा आणविक साइटहरूमा गरिएको अमेरिकी सैन्य आक्रमणलाई शानदार सैन्य सफलता भन्दै ती सुविधाहरू पूर्ण रूपमा नष्ट गरिएको बताएका छन् ।

ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले  ईरानले शान्ति गर्नैपर्ने नभए भविष्यमा आक्रमणहरू झन् ठूलो हुने चेतावनी दिए ।

अमेरिकाले बी-२ बमवर्षक विमान प्रयोग गरेर आक्रमण गरेको हो । स्रोतहरूका अनुसार अमेरिकी सेनाले ३० हजार पाउन्ड तौलको बंकर बस्टर बम पनि प्रयोग गरेको थियो । यो बम युद्धमा प्रयोग गरिएको पहिलो घटना हो ।

इजरायल–ईरान द्वन्द्व दोस्रो सातामा प्रवेश गरेको छ ।

शनिबारको सुरुमा इजरायलले ईरानको कुद्स फोर्सका दुई कमान्डरहरूलाई मारेको दाबी गर्दै इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको थियो । इजरायलमा दुई इरानी ड्रोनहरूले देशको हवाई सुरक्षा प्रणाली पार गरेको दुर्लभ घटना भएको पनि बताइएको छ ।