हामवाखको दरबार अवलोकन गरिसकी दिउँसोको खाना दरबार नजिकैको रेष्टूराँमा खाएर बाँकी समय नजिकैको सानो शहर सेन्ट मार्टिन र एडेनकोवेन अवलोकन गरेपश्चात हामी बेलुकी स्पायर फर्कियौँ । हाम्र्रो अध्ययनले निरन्तरता पाइनै रह्यो । जर्मनी संघीय राज्य भएको कारण जर्मन संविधान अनुरुप खडा भएका संवैधानिक अंगहरु तत्कालिन राजधानी वोनमा मात्रै केन्द्रित नभई विभिन्न राज्यहरुमा खडा गरिएका थिए । सो अनुरुप जर्मनीको संवैधानिक अदालत भने फाल्च्ज समतल भुमीको ऐतिहासिक शहर कार्ल्सरुहमा थियो । 

त्यतिखेरको नेपालको संविधानमा सर्वोच्च अदालतको व्यवस्था भएको तर संवैधानिक अदालतको व्यवस्था नभएको कारण त्यहाँको संवैधानिक अदालतको कार्य के होला भन्ने मलाई कौतुहल भइरहेको र जर्मन सार्वजनिक प्रशासन आफ्नो पढाइको विषय रहेको कारण नागरिकको मौलिक हक उल्लङ्घन भएको अवस्था, सरकार र नागरिकबिच झगडा परेको अवस्था, स्थानीय निकाय, प्रदेश र संघीय सरकारबिच अधिकारको बाँडफाँडको कारण परेको झगडा सबै संवैधानिक अदालतको क्षेत्राधिकारभित्र पर्दो रहेछ भन्ने थाहा लागेपछि मलाई कार्ल्सरुह जाने इच्छा भइरहेको थियो । 

त्यसैबिच मेरो अर्को गेष्ट फेमेली मोनिका क्लेमस्टाइनको बुबाआमाको घर पनि त्यहि शहरमा भएको कारण मैले उनलाई आफनो इच्छा व्यक्त गरिरहेको थिएँ । त्यसैबिच जनवरी महिनाको पछिल्लो शनिबार उनले मलाई आफ्नै कारमा कार्ल्सरुह लिएर गइन् । त्यो शनिबार दिनभर हामीले कार्ल्सरुहमा बितायौँ । त्यहाँ हामी पुग्दा बिहानको ११ बजेको थियो । कारमा स्पायरबाट जाँदा ४५ मिनेटमै हामी त्यहाँ पुगेका थियौँ । मोनिकाको बाबुआमालाई भेटर त्यहाँ नै १२ बजेतिर दिउँसोको खाना खाई जर्मनीको संवैधानिक अदालतलाई बाहिरबाटै सर्सति हेरेर हामी तत्पश्चात दरबार अवलोकन गर्न गयौँ ।

कार्ल्सरुहको दरबार 

यो दरबार सन् १७१५ मा निर्माण गरिएको रहेछ । जर्मनीको बाडेन डुरलाखका सम्राट मारग्रेभ चाल्र्स विलियम तेश्रो यस दरबार निर्माण गराउन लगाएका रहेछन् । मनोरञ्जनको शहर ९ँबल ऋष्तथ० को नामले चिनिने यस शहरको डिजाइन पांग्राको आकारमा गरिएको र दरबारबाट ३२ वटा सडकहरु ३२ दिशातर्फ फर्काइ निर्माण गरिएको रहेछ र यी ३२ वटै सडकको केन्द्र विन्दुमा दरबार ठडिएको रहेछ । पहिले सन १७१५ मा काठ प्रयोग गरी निर्माण गरिएको यो दरबारलाई १७४६ मा चुनढुंगा प्रयोग गरी पुनर्निर्माण गरिएको रहेछ । 

पछि १७७० मा सम्राट फ्रेडरिख फोन केसलाउले यस दरबारमा ठूलाठूला ढोका, झ्यालहरु र दरबारमा अग्लो टावर बनाउन लगाएका रहेछन् । पछि फेरि १७८५ मा टावरको उचाईलाई घटाइ राजा विलहेल्म म्यूलरले दरबारभित्र स्तुपा आकारको गोलो छाना (कुपोला) बनाउन लगाएका रहेछन् । सन १८४८ मा भएको क्रान्तीको कारण त्यहाँका सम्राट लिओपोल्ड गाण्ड ड्यूक भागेपछि सन् १९१८ बाट त्यस दरबारभित्र बाडेनको प्रदेशस्तरीय म्यूजियम राखिएको रहेछ । जसलाई जर्मनीकै एक सांस्कृतिक इतिहासको म्यूजियम मानिँदो रहेछ । प्रागऐतिहासिक, मध्यकालिन बारोक कालका वस्तुहरु यस म्यूजियम भित्र सजाइएको रहेछ । 

दोश्रो विश्वयुद्धताका भएको बम आक्रमणमा ध्वस्त भएतापनि यस दरबारको जिर्णोद्धार र पुनर्निमार्णको कार्य युद्ध लगत्तै सम्पन्न गरिएको रहेछ । दरबारको अगाडि विभिन्न सम्राटहरुको विभिन्न बेलाका मूर्तिहरु ठडाइएका रहेछन् । वनस्पति उद्यानसहितको दरबारको बगैँचामा प्राकृतिक रुपमा नै संरक्षण गरी आधुनिक ढाँचामा सजाइएको पौडि खेल्ने पोखरी पनि रहेछ ।