न्यूएनवेर्गको सम्राटको दरबार (इम्पेरियल क्यासल) र न्यूएनवेर्गको मध्यकालीन शहरको अवलोकन गरेपछि हामी उही दिन बेलुकी ५ बजेतिरै स्पायर फर्कियौँ र आफ्नो अध्ययनलाई निरन्तरता दिन थाल्यौँ । हाम्रो विश्व विद्यालय भएको शहर स्पायर त्यस क्षेत्रकै ज्यादै पुरानो शहर मानिन्छ । राइनलाण्डको समथर भूमी जसलाई जर्मन भाषामा फाल्च्ज भनिन्छ त्यहाँ नजिकैको अर्को शहर नयस्टाड्टसँगै हामवाख भन्ने डाँडामा जर्मनीकै एक मध्यकालीन किल्ला सहितको दरबार रहेछ । त्यो कुरा हामीलाई थाहा थिएन । हाम्रो जर्मन गेष्ट फेमिली भाल्टर र एडिट स्वाच्र्जले हामीलाई त्यो दरबार अवलोकन गर्न जान चाहन्छौँ भनेर सोधेको केहि दिन भएको थियो । म र मेरो मित्र हिरामणी घिमिरेले त्यहाँ जाने इच्छा व्यक्त गरेको थियौँ ।
सोहि अनुरुप सन् १९९० को जनवरी महिनाको पहिलो शनिबार बिहानै हामी त्यतातिर जाने निर्णय भयो । त्यसैबिच हाम्रो अर्को गेष्ट फेमिली मोनिका होफमान र हेरमान फुक्सले पनि सँगै जाने इच्छा व्यक्त गरे बमोजिम हामी ६ जना त्यतातिर लाग्यौँ । करिब एक घण्टा जतिमा हामी त्यहा पुग्यौँ । तल फेदीमा कार पार्क गरी पहिलो दुई घण्टा त्यहाँको जंगल घुम्ने र दिउँसोको खाना खाने समयमा किल्लासहितको दरबार अवलोकन गर्ने निर्णय भए बमोजिम हामी दरबारको वरिपरिको जंगल घुम्न तर्फ लाग्यौँ । जंगल घुमीसके पश्चात हामी किल्लासहितको हामवाख दरबारमा आइपुग्दा बिहानको ११ः३० बजेको थियो ।
हामवाख दरबार र किल्ला

जर्मन भाषामा हामवाखर स्लोस्सको नामबाट प्रख्यात यो किल्लासहितको दरबारलाई जर्मन प्रजातान्त्रिक आन्दोलनको एक उदाहरणको रुपमा मानिँदो रहेछ । सन् १८३२ देखि नै यहाँ हामवाखर चाड मनाइन शुरु गरिएको रहेछ । राइन नदिको समतल भूमीबाट करिब ३२५ मिटरको उचाइमा अवस्थित यो दरबार राइन समतल भूमीमा रहेको घना जंगलको बीचमा बनाइएको रहेछ । यहाँ भएको पुरातात्विक अन्वेषणलाई आधार मान्दा सन् १८३२ अगाडी नै रोमन साम्राज्यको अन्त्यतिर क्यारोलिन्ज्यान र अट्टोनियन कालमा नै किल्लाको रुपमा यस क्षेत्रको प्रयोग भएको बताईंदो रहेछ । ११औँ शताब्दीको पहिलो ५० वर्ष भित्रै यहाँ केस्टनवुर्ग नामको दरबार रहेको र त्यो नाम रहनुको पछाडी त्यस क्षेत्रको जंगल चेष्टनट नामक कटुसको रुखहरुले भरिपूर्ण भएको कारण रोमन सम्राटहरु विशेष गरी हेनरी चौँथौको पाला देखि नै त्यहाँ आई जंगल घुम्ने अनि दरबारमा केहि दिन बिताउने गर्दा रहेछन् ।
प्रमाणिक दस्तावेजको आधारमा भन्ने हो भने सन् १०९० र ११०४ को बीचको अवधिमा स्पायरका राजा जोहान प्रथमले त्यस दरबार र किल्लालाई आफ्नो स्वामित्व लिने गरी स्पायरको विशपसँग सन्धिमा हस्ताक्षर गरेका रहेछन् जुन सन्धि सन् १८३२ सम्म क्रियाशील रहेछ । त्यस अवधिमा अति नै सुविधा सम्पन्न त्यस दरबारलाई स्थायी रुपमा आफ्नो निवास बनाउनेहरुमा केष्टनवुर्गका बुर्कहार्ड उनका भाई केष्टनवुर्गका टरुस्हार्ड आदि पर्दा रहेछन् जसले रोमन सम्राट हेनरी चौँथौको कालमा दरबारमा उच्च पद ओगटन सफल भएका रहेछन् । १३ औँ शताब्दीमा आएर यहाँ निर्माण कार्यले तिव्रता पाएको रहेछ । त्यस अवधिमा त्यहाँ गजुरको निर्माण भएको र १२ जुलाई १३८८ का दिन राजा निकोलाउस प्रथमले वास्तु पुजा गरेका रहेछन् ।
१४औँ शताब्दीको अन्ततिर एपिस्कोलानियनहरुले यस दरबारलाई आफ्नो अभिलेखालय बनाएका रहेछन् । पछि नजिकैको हानहोफन भन्ने ठाउँमा सन् १४१४ मा नया संरचनाहरु बनेपछि यो दरबारको महत्व घटेको रहेछ । तत्पश्चात सन् १४६६ मा यो दरबारको जिम्मा स्पायरको विशपलाई दिइएको रहेछ । यसैको कारणले गर्दा पनि यस दरबारको संरक्षण गतिलोसँग हुन पुगेको भन्दा रहेछन् । सन् १५२५ मा भएको जर्मन मजदुर युद्ध ताका यो दरबार लुटिएको भएता पनि ध्वस्त हुनबाट जोगिएको रहेछ र १५५२ मा व्राण्डेनवुर्गका आल्बेर्टले १ लाख ५० हजार गुल्डेन चन्दा माग्दा नदिएको झोकमा यो दरबारलाई नियन्त्रणमा लिई आगजनी गराएको रहेछ ।

पछि १५६० तिर जंगल रक्षक (फरेष्टर) को निवासको लागि भनेर यसलाई काम चल्ने पाराले जिर्णोद्धार गरिएको रहेछ । तर पनि दरबारका किल्लाहरु पछिसम्म ज्यूका त्यूँ रहेता पनि सन् १६१८ मा शुरु भएको ३० वर्षे धार्मिक युद्ध ताका फ्रेञ्च सैनिकहरुले आई यस दरबारलाई पुरै ध्वस्त गरेका रहेछन् जुन पछि १७०१ गएर पुनरनिर्माण गरिएको रहेछ । सन् १७९७ मा फ्रेञ्च सरकारको सम्पत्तिमा दर्ज भएको यो दरबार पछि वायर्न (वभेरिया) अधिराज्यको स्वामित्वमा गएको रहेछ । यही अधिराज्यले सन् १८४४ मा नवगोथिक शैलीमा यो दरबारको पुरै पुनर्निर्माण गरेको रहेछ । सन् १९८२ मा यस दरबारको पुनर्निर्माणको १५० औँ वार्षिकोत्सवको अवसर पारी १ करोड २० लाख जर्मन मार्क खर्च गरी यस दरबारलाई झनै सुन्दर बनाउने कार्य गरिएको रहेछ ।



0 comment