न्यूएनवेर्गको सम्राटको दरबार (इम्पेरियल क्यासल) अवलोकन गरिसक्दा मध्यान्ह भइसकेको थियो । त्यसपछि हामीलाई अवलोकन गराउन बाँकी त्यहाँको मध्यकालिन शहर थियो । सो शहर अवलोकन शुरु गर्नु अघि शहरको मुटुमा रहेको एक रेष्टुराँमा हामीलाई दिवा खाना खुवाइयो । तत्पश्चात हामी त्यहाँको मध्यकालीन शहर अवलोकन गर्न तर्फ लाग्यौँ ।   

न्यूएनवेर्गको मध्यकालीन शहर

सन् १०५० प्रामाणिक अभिलेख अनुसार यस शहर जर्मनीको फ्रान्कोनियन र बभेरियन क्षेत्रको बीचमा अवस्थित रहेको र सन् १०५० देखि १५७१ को बीचमा यस शहरको नाटकीय रुपमा विकास भएको र सो हुनुको मुख्य कारण यही शहर भएर उत्तरी इटली र उत्तरी यूरोपबीच व्यापार वृद्धि हुनु हो भनिँदो रहेछ । 

१२ औँ शताब्दीको अन्त्यमा पवित्र रोमन साम्राज्य अन्तर्गत गाभिन पुगेको रहेछ । पछि १४ औँ शताब्दीको अन्त्य र १५ औँ शताब्दीको शुरुमा यस शहरलाई आफ्नो नियन्त्रणमा लिन बुरग्रेभ्स र कास्टेलानबीच ठूलो द्वन्द्व भएको रहेछ जसको कारण बढेको खुला शत्रुताले गर्दा यो शहरको प्रशासनलाई रोमन साम्राज्यले इम्पेरियल मेयरको जिम्मामा दिएको रहेछ । यो शहर प्रख्यात हुनुको अर्को कारण भनेको सन् १२९८ मा त्यहाँ रहेका जर्मन यहुदीहरुलाई विनाआधारको आरोप लगाई आमरुपमा हत्या गरिएकोले पनि रहेछ । जुन घटनामा ६९८ जर्मन यहुदीहरुको हत्या गरिएको रहेछ । जुन हत्याकाण्डलाई त्यहाँ शहरको इतिहासमा रिन्टफ्लाइस मासाकर नामबाट जानिँदो रहेछ । यस काण्ड पश्चात पेगनिट्ज नदिको उत्तरी र दक्षिणी भागमा विभाजित यस शहरको एकीकरण हुन पुगेको रहेछ । त्यसपछि फेरी सन् १३४९ मा बाँकि रहेका अरु जर्मन यहुदीहरुलाई त्यहाँबाट लखेट्ने क्रममा ज्यूँदै जलाइएको र उनीहरु त्यहाँबाट भागेपछि त्यस क्षेत्रमा खुला बजार बनाइएको रहेछ ।

१४ औँ शताब्दीतिर आएर यस शहरले ठूलो आर्थिक समृद्धि हासिल गरेको कारण तत्कालिन रोमन सम्राट चाल्र्स चौँथोले यस शहरमा आफ्नो पहिलो राजपरिषद् (डाइट) को सभाको आयोजना गरेका रहेछन् । त्यही बेलामा शहरको मुटुमा उनले इम्पेरियल लेडि चर्च (फ्राउन किर्ख) निर्माण गर्न लगाएका रहेछन् । यस चर्च सम्राट र उनको परिवारको पुजाको लागि मात्रै भनेर बनाइएको रहेछ । मध्यकालिन समयमा नै आर्थिक रुपमा समृद्ध हुन गएको कारण साँस्कृतिक र साहित्यिक रुपबाट पनि समृद्ध मानिएको रहेछ ।  

१५ औँ तथा १६ औँ शताब्दीमा जर्मन पुनर्जागरणको केन्द्र बन्न पुगेको यो शहरले पवित्र रोमन साम्राज्य विरुद्ध क्रान्ती गरी आफुलाई प्रोटेस्टेन्ट घोषित गरेको रहेछ । सन् १६१८ मा शुरु भई १६४८ मा अन्त्य भएको ३० वर्षे धार्मिक युद्धको चपेटामा पर्न जाँदा व्यापार व्यवसाय मात्रै ठप्प नभई यस शहरको साँस्कृतिक सम्पदा पनि प्रायः ध्वस्त हुन पुगेको रहेछ । युद्धको अन्त्य पछि प्रोटेस्टेन्ट सन्त एगिडियनको अगुवाइमा शहरको जिर्णोद्धार र पुनर्निर्माण प्रोटेस्टेन्ट बारोक वास्तुशैलीमा भएको रहेछ । यही समयमा नै शहरको पर्खाल बाहिर पट्टि नागरिक बगैँचा बनाइएको रहेछ । पछि १८ औँ शताब्दीको शुरुमै भएको आगलागीको कारण ध्वस्त भएको भएतापनि यहाँको चर्चको बारोक शैलीको वास्तुकलाले पुरै फ्रान्कोनियन क्षेत्रमा प्रभाव जमाएको रहेछ । 

१९ औँ शताब्दीमा जर्मनीमा हिटलर र नाजीहरु सत्तामा आएपछि उनीहरुले यस शहरलाई आफनो नाजी विचारधाराको केन्द्रको रुपमा विकास गरेका रहेछन् । नाजीहरुको राजनीतिक विचारधारात्मक विचारको विजय अभियान (ट्राईअम्फ डेस भिल्लेन्स) यहि शहरबाट शुरु भएको कारण पनि जर्मनीको इतिहासमा यस शहरको बारेमा बढी उल्लेख भएको छ भनिँदो रहेछ । सन् १९३५ मा यही शहरमा नाजीहरुले आयोजना गरेको विशाल र्‍याली पश्चात हिटलरले जर्मनीमा रहेका यहुदी र गैरआर्यनहरुलाई दिइएको जर्मन नागरिकता अवैध घोषित गरेको कारणले गर्दा यस शहरलाई नाजीहरुको गृहनगर पनि भनिँदो रहेछ । यही कारण दोश्रो विश्वयुद्ध ताका शत्रुपक्षले धेरै बमहरु यस शहरमा खसालेको कारण ठूलो मात्रामा नाजीहरु वेपत्ता हुन पुगेको र बाँकी रहेकाहरु युद्धबन्दी हुन पुगेका रहेछन् । सन् १९४५ को १७ देखी २१ अप्रिलसम्म भएको उक्त अमेरिकी बम आक्रमणबाट न्यूएनवेर्गको मध्यकालीन शहर ८० प्रतिशत ध्वस्त भएको, ६ हजार स्थानीय वासिन्दा मारिएका, १ लाख जनसंख्या विस्थापित हुन पुगेका रहेछन् । युद्धपश्चात वृहतरुपमा यस मध्यकालिन शहरको जिणोद्धार र पुनर्निर्माण भएतापनि ५० प्रतिशत क्षति अपुरणिय नै भएको रहेछ । 

१६ अक्टोवर १९४६ को दिन यहि ठाउँमा हिटलरको नाजी दलका १० जना सैनिक र राजनीतिक नेताहरुलाई सार्वजनिक रुपमा झुण्डाइ मारिएको रहेछ ।