हाइडेलवर्गको पुरानो भग्नावशेषसहित दरबार (क्यासल) अवलोकन गरेपश्चात हामी माथि डाॅडाबाट हाइडेलवर्गको प्राचीन शहर, प्राचीन पुल र हाइलिगगाइष्ट चर्च अवलोकन गर्न भनी तल मैदानमा रहेको शहरमा झर्यौं । यो शहर डाॅडामा रहेको हाइडलवर्गको दरबारको ठ्याक्कै काखमा बसेको रहेछ । सन् ११९६ मा स्थापना भएको यो शहरको विकास माथि डाॅडामा रहेको दरबारसँगै भएको रहेछ ।
नेक्कार नदीको किनारमा एक माइल जति लम्बाइ भएको यो शहर एकातर्फ कार्ल्स्टोर (चार्ल्सगेट) र अर्को तर्फ विस्मार्क स्क्वायरमा पुगेपछि टुंगिदो रहेछ । पैदल नै हिँडनु पर्ने बाध्यकारी नियम भएको जर्मनी कै सबैभन्दा लामो यो शहर घुम्दा त्यहाँ अति प्राचीन र नयाँ भवनहरुको अचम्मको मिश्रण देखिँदो रहेछ । प्राचीन साँघुरा तथा सफा गल्लीहरु र त्यहाँ भएका बजार, कलाकृति, इतिहास, विज्ञान झल्कने प्रस्तुतिहरु अवलोकन गर्नेको भीड एकातर्फ र मनोरञ्जन लिने, किनमेल गर्ने र सिंगारिएका रेष्टुंराहरुमा खानेहरुको भीड अर्कोतर्फ देखिँदो रहेछ ।
पूर्व पश्चिम तन्किएको मुख्य सडकका दुबैतर्फ किनमेल गर्ने बजार जस्तो माक्र्ट प्लाच्ज, कोर्न माक्र्ट रहेछन् भने त्यहीँ हाइलिग गाइष्ट (होली घोष्ट) चर्च पनि रहेछ । त्यस बाहेक त्यहाँ फाल्च्ज इलाकाको म्यूजियम, सिनागोग स्क्वायर, विश्व प्रख्यात हाइडेलवर्ग विश्वविद्यालय, फ्रेडरिक मेमोरियल र नेक्कार नदि माथिको पुरानो पुल जस्ता पर्यटकिय स्थल रहेछन् ।
पुरानो पुलको खास नाम चाहिँ कार्य थिओडर रहेछ । नेक्कार नदी माथिको यो पुल यूरोप भरी नै प्रख्यात पुल मानिँदो रहेछ । सन् १२५४ मा बनेको यो पुल दुई सय वर्ष अघि काठ र ढुंगा प्रयोग गरी जिर्णोद्धार गरिएको रहेछ । पुलको दुबैतर्फ जर्मन विचारक र सुधारकहरुका मूर्तिहरु ठडाइएको रहेछ । यही पुलबाट दुबै किनारतर्फ हेर्दा हाइडेलवर्ग शहरको हरियालीपूर्ण मनमोहक दृश्य देखिँदो रहेछ । पुल प्रवेश गर्ने मध्यकालीन ढोकाको वास्तुशैली आफैँमा अचम्मको रहेछ । यही कारणले गर्दा यो शहरले कलाकार, विचारक, कविहरुलाई रोमान्टिकवादतर्फ आकर्षित गरेको विश्वास गर्दा रहेछन् ।
पैदलै हिँडदै जाँदा उच्च शिक्षाको लागि विश्व कै नामुद रुपरेख्ट कार्ल विश्वविद्यालयको भवन अवलोकन गर्ने मौका पर्दो रहेछ । अझ अगाडि बढ्दा हाइडेलवर्ग कै पुरानो १३औँ शताब्दीमा बनेको गोथिक शैलीको अति सुन्दर चर्च उभिएको देखिँदो रहेछ । हाइडेलवर्ग शहरको विश्व लोकप्रियतालाई थोरै शब्दमा वर्णन गर्दा यसलाई विज्ञान र अनुसन्धान, साहित्य र कलाको शहर, जर्मनी पुरानो विश्वविद्यालयको शहर भन्दा रहेछन् । यसलाई अन्तराष्ट्रिय ख्याति प्राप्त शहर यसकारण पनि भनिँदो रहेछ की ५६ हजार जनसंख्या भएको यो शहर अवलोकन गर्न वर्षको एक करोड असि लाख पर्यटकहरु यहाँ आउँदा रहेछन् । शहर भएर पनि हरियालीपूर्ण, प्राकृतिक छटाले भरिएको, उच्च शहरीया जीवनस्तर भएको, जनसंख्या जसको ठूलो अंश विद्यार्थी, शिक्षक, विचारक र अनुसन्धानकर्ता भएको कारण यस शहर दिगो विकास, वातावरण संरक्षणका लागि जर्मनीकै एक उत्कृष्ट शहर मध्ये एकमा आउँदो रहेछ । दोश्रो विश्वयुद्धकालमा ध्वस्त हुनबाट बचेको कारणले गर्दा पनि यस शहरको प्राचीनताले विश्व महत्व पाएको रहेछ ।


0 comment