काठमाडौं - भारतको कोलकातास्थित एक होटलमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । मंगलबार साँझ होटलमा आगलागी हुँदा मानिस बच्नका लागि झ्यालबाट बाहिर निस्केका थिए भने केही छतमा चढेर निस्किएका थिए ।
‘दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ, आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले भने, ‘धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।’
आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको एक भीडभाड व्यापारिक क्षेत्रमा अवस्थित छ ।करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् र उपचार गराइरहेका छन् ।
भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटनाहरू सामान्य छन् । गत वर्ष पूर्वी राज्य बिहारको पटनामा एक होटलमा आगलागी हुँदा छ जनाको मृत्यु भएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गरेका छन्। एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको कोलाकाता पश्चिम बङ्गाल राज्यको राजधानी हो ।


0 comment