काठमाडौं -  ईंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ। सिजनको चारवटा खेल अगाडि नै लिभरपुलले उपाधि जितेको हो। 

आइतबार घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुलले उपाधि सुनिश्चित गरेको हो। खेलको सुरुवाती मिनेटमा गोल बेहोरेको लिभरपुलले उत्कृष्ट पुनरागमनसहित विजयी भएको हो। 

लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सलाहाले १/१ गोल गरे। टोटनहमले एक गोल आत्मघाती गोल बेहोर्‍यो।टोटनमका लागि डोमिनिक सोलान्केले सान्त्वना गोल गरे।

३५ वर्षपछि एन्डफिल्डमा उपाधि जित्दा लिभरपुल समर्थकको लागि यो सबैभन्दा उत्कृष्ट पल हो।‌ यस अघि २०१९/ २० को सिजन लिभरपुलले प्रिमियर लिग जितेको थियो। त्यो सिजनमा समर्थकलाई रङ्गशालामा प्रवेश निषेध गरिएको थियो। जसका कारण पनि लिभरपुल समर्थकका लागि यो उपाधि निकै खास बनेको हो। लिभरपुलको यो प्रिमियर लिगको दोस्रो उपाधि हो।