भुर्च्जवुर्ग रेसिडेन्स दरबार अवलोकन गरिसक्दा बेलुकी भइसकेको कारण हामी शहर घुम्दै आफ्नो कोठामा फर्कियौँ र बेलुकाको खाना खाई गफसफ गरी कोठामा पुग्दा रातिको नौ बजिसकेको थियो । भोलिपल्ट बिहान नियमित ब्रेकफास्ट गरी हामी सेमिनारमा संलग्न भयौँ । बीचमा लन्चको लागि एक घण्टा विश्राम लिइसकेपछि ३ बजेसम्म हाम्रो सेमिनारले निरन्तरता पायो । तत्पश्चात हामी भुर्च्जवुर्गको ऐतिहासिक किल्ला मारियनवुर्ग अवलोकन गर्न त्यसतर्फ लाग्यौँ । मारियनवुर्ग जाँदा बाटोमा माइन नदीको पुरानो ऐतिहासिक पुल देख्न पाइँदो रहेछ । यस पुलको निर्माण सन् ११२० मा भएको रहेछ । यही पुलले भुर्च्जवुर्गको पुरानो शहरलाई किल्लासँग जोडेको हुँदा किल्ला अवलोकन गर्न जानेले यही पुलबाट माइन नदी पार गर्नुपर्ने कारण यो पुलको अवलोकन झण्डै अनिवार्य जस्तै रहेछ ।

सन् १७३० यस पुललाई सिँगार्ने क्रममा पुलको दुई लहरमा सन्त र वादशाहहरुको गरी १२ वटा मूर्तिहरु ठड्याइएको रहेछ । दोस्रो विश्वयुद्धताका भएको बम हमलाको कारण बेस्सरी क्षतिग्रस्त हुन पुगेको यो पुललाई युद्धपश्चात क्रमशः जिर्णोद्दार गर्दै लगिएको रहेछ । यस पुलबाट माथि डाँडाका टुप्पामा रहेको मारियनवुर्ग किल्ला निकै मनमोहक देखिँदो रहेछ ।
मारियनवुर्ग किल्ला

भुर्च्जवुर्ग शहरको १०० मिटर अग्लो डाँडामा माइन नदीको देब्रे किनारमा वरिपरि अंगुरका बिरुवाहरुले घेरिएको मारियनवुर्ग किल्लाको निर्माण सन् ७०४ बाट शुरु भएको रहेछ । शुरुमा चर्चको प्रयोजनको लागि बनाइएको भएतापनि पुनर्जागरण र बारोक कालमा यसलाई वरिपरी अग्ला मोटा पर्खालहरुले घेरी किल्लाको रुपमा विकास गर्न शुरु गरिएको रहेछ । १७ औँ र १८औँ शताब्दीमा भएका विभिन्न युद्धहरुमा यो किल्लाको आम रुपमा प्रयोग भएको रहेछ । दोस्रो विश्वयुद्धकालमा खसालिएका बमहरुबाट क्षतिग्रस्त भएको यो किल्लामा जिर्णाेद्दारपश्चात दुईवटा म्युजियम राखिएको रहेछ ।
इतिहास खोतल्दै जाँदा जर्मनीकै गौरवशाली किल्ला मानिने यो मारियनवुर्ग किल्ला पहिलो पाँच सय वर्षसम्म स्थानीय राजकुमार विशपको निवास रहेछ । यसका मुख्य संरचनाहरु त्यतिखेर नै बनेका रहेछन् । यस किल्लाको विस्तार १६औँ देखि १८औँ शताब्दीबिच भएको रहेछ । त्यही कारण त्यहाँ पुनर्जागरणकालको बारोक वास्तुकला शैली राम्ररी झल्कँदो रहेछ । स्वीडेनका राजा गुस्ताभुस आडोल्फुसले ३० वर्षे धार्मिक युद्धताका सन् १६३१ मा यस किल्लालाई आफ्नो अधिनमा लिएका रहेछन् ।
प्रागऐतिहासिक कालको कुरा गर्ने हो भने १००० इशापूर्वमा नै त्यहाँ सामन्तहरुको दरबार रहेको कुरा पुरातात्विक उत्खननहरुले प्रमाणित गरेको रहेछ । किनकी यहाँका स्थानीय व्यापारीहरुले ५०० इशापूर्वदेखि नै प्राचीन ग्रीससँग अंगुरको व्यापार गर्दा रहेछन् । सन १०० देखि यो किल्ला विभिन्न फरक फरक युद्धरत समूहको कब्जामा पर्दै गएको रहेछ र छैठौँ शताब्दीमा आइपुग्दा फ्रान्क नामक समूहले आफ्नो कब्जा जमाएको हुँदा मेरोभिन्ज्यान वंशका फ्रान्कोनियन ड्युकको अस्थायी राजधानीको रुपमा भुर्च्जवुर्गको विकास हुन गएको रहेछ ।
उनै ड्युकले आठौँ शताब्दीको शुरुवातमै क्राइष्टकी आमा भर्जिन मेरीलाई समपर्ण गर्दै यसै किल्लाभित्र एक गजुर निर्माण गर्न लगाएको कारण यसलाई मारियनवुर्ग नामाकरण गरिएको रहेछ । आल्पस हिमालयको उत्तरतर्फ ठूला ढुंगाहरुले बनेको पहिलो चर्चको रुपमा रहेको हुँदा क्रिश्चियनहरुबिच पनि यस किल्लाले प्रख्याति कमाएको रहेछ । यो किल्लालाई वरिपरी पर्खालले घेरिएको भन्ने कुरा १३औँ शताब्दिसम्म नखुलेको तर जब प्रिन्स विशपले आफ्नो निवास यहाँ सारेपछि मात्र खुलेको कारण पर्खालहरुको निर्माण उनैले पो गरेको मानिँदो रहेछ । उनै प्रिन्स विशपका उत्तराधिकारीहरु १८औँ शताब्दीसम्म त्यहाँ बसेका रहेछन् ।
सन् १८१४ मा यो किल्लालाई वभेरिया अधिराज्यले आफ्नो नियन्त्रणमा लिएपछि अस्ट्रो पर्सियन युद्धताका पर्सियन सेनाहरुले दक्षिणतिरबाट यस किल्लामाथि तोप र बम आक्रमण गरेका रहेछन् । यस आक्रमणसँगै यो किल्ला ब्यारेकमा परिणत हुन पुगेको रहेछ र सन् १८७१ को फ्रान्को पर्सियन युद्धताका यो शरणार्थी शिविरमा परिणत हुन पुगी वेवारिसे अवस्थामा गुज्रन पुगेको रहेछ । तर सन् १९१४–१८ को प्रथम विश्वयुद्धताका यस किल्लालाई पुनः सैनिक ब्यारेक र सैनिक बन्दोवस्ती सामान राख्ने गोदामको रुपमा प्रयोग गरिएको रहेछ ।
पछि १९३५ मा यो किल्ला वभेरियाको प्रशासन अन्तर्गत आएपछि यसको क्रमशः जिर्णोद्धार भई यसले आफ्नो गौरवपूर्ण इतिहासलाई निरन्तरता दिएको रहेछ ।



0 comment