काठमाडौं - युथ एक दिवसीय शृङ्खला अन्तर्गत अफगानिस्तानको यु- १९ क्रिकेट टोलीविरुद्वको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । 

आज भएको तीन खेलमध्येकोे अन्तिम खेलमा अफगानिस्तानलाई ८५ रनले हराउँदै नेपाल यु-१९ ले सान्त्वना जित हात पारेको हो । 

आज अफगानिस्तानलाई नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षाका कारण खेल अगाडि बढ्न नसकेपछि डिएलएस विधिबाट नेपालले जित हात पार्यो । अफगानिस्तानले २० दशमलव १ ओभरमा आफ्नो ६ विकेट गुमाउँदै ४६ रन बनाएको थियो । 

अफगानिस्तानका लागि फैसल शिनोजादाले १६, अजीजुल्लाह मिया खिलले १५, कप्तान महबुब खानले ८, बरकत इब्राहिमजाइले ५ र नाजिफुल्लाह अमिरीले एक रन जोडे । अफगानिस्तानले अतिरिक्त एक रन प्राप्त गर्यो ।

नेपालका लागि अपराजित पौडेलले दुई विकेट हात पार्दा दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले समान एकरएक विकेट हात पारे । 

त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । 

तीन खेलको शृङ्खला भने अफगानिस्तानले २- १ ले जितेको छ । पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने दोस्रो खेलमा पनि अफगानिस्तानले नेपाललाई एक रनले हराएको थियो ।