स्टुटगार्टको दरवार स्क्वायर र सेपुलक्रल चिहान (Württemberg Mausoleum) अवलोकन गरिसक्दा दिनको ३ मात्रै वजेको थियो । सरासर स्पायर फर्कनु भन्दा बाटोमा पर्ने ऐतिहासिक शहर एसलिंगन पनि अवलोकन गर्ने सहमति भए अनुसार हामी स्टुटगार्टबाट केही घन्टा एसलिंगनमा विताउने निधो गरी हामी सोझै त्यता लाग्यौं । स्टुटगार्टबाट एसलिंगनको दुरी जम्मा १७ किलोमिटर जति मात्रै हुंदा हामी ४ वज्दा एसलिंगन पुगिसकेका थियौ । त्यहाको सिटि सेन्टरमा हाम्रो वस अडिए पछि हामी लाग्यौ एसलिंगनको ऐतिहासिक स्थलहरु अवलोकन गर्ने तर्फ ।

एसलिंगन नगर दक्षिण जर्मनीको नेक्कार नदीको किनारमा रहेको स्टुटगार्ट पछि यस क्षेत्रकै ठूलो शहरमा गनिदो रहेछ । यो जर्मनीको एकिकरण हुनु अगाडि धेरै शताब्दि सम्म साम्राज्यको स्वतन्त्र शहर रहेछ र पछि सन १८०२ मा भूर्टेमवर्गमा गाभिएको रहेछ । यस शहर र त्यहाको चर्च वरिपरि भएको पुरातात्विक अन्वेषण अनुसार इशा भन्दा १००० वर्ष अगाडिनै निओलिथिक युगमा यहा मानव सभ्यताको विकाश भएको पाइएको रहेछ । पहिलो शताब्दिमा यो रोमन साम्राज्यको अधिनमा रहेछ त्यतिखेर माथिल्लो एसलिंगनमा रोमनहरुले गोदाम र पछि उनीहरुले सैनिकहरुको लागि ब्यारेक पनि बनाएका रहेछन् । यस शहरको नाम सबैभन्दा पहिले सन ७७७ मा एजालिंगा भनी पेरिशका पादरी सन्त फुलराडले राखेका रहेछन् । पछि सेन्ट डेनिसले इटलीको शहर मिलानबाट पहिलो क्रिश्चियन भनेर मानिने भिटालिसको      (हड्डि) अस्तुधातु ल्याई त्यहाको चर्चको छिडिमा राखेपछि एसलिंगन ठूलो धार्मिक गन्तब्य वन्न गएको रहेछ र यही कारण यस शहरको विकाशक्रम शुरु भएको रहेछ सन ८६६ तिर आइपुग्दा यो ठूलो वजारमा परिणत भएको रहेछ र सन ९४९ देखि ९५३ सम्म गरि ४ वर्ष यो शहर स्वाबको ड्युकको अधिनमा गएको रहेछ । पछि रोमन सम्राट फेडेरिक द्धितियको पालामा नेक्कार नदी माथि पुल वनेपछि त यो शहर इटली, स्वीट्जरलैण्ड र उत्तरी जर्मनी वीचको ब्यपारिक मार्गनै वन्न पुगेको रहेछ ।

अंगुरको रक्सी वनाइ ब्यपार गर्ने ब्यपारीहरुले यो पुल प्रयोग गर्दा बुझाउनु पर्ने शुल्कको कारण यस शहर त्यतिवेलानै धनधान्यले पूर्ण मानिदो रहेछ । पछि १३औं शताब्दिमा  रोमन साम्राज्य र भूर्टेमवर्गको ड्युक वीच यस शहर कस्को अधिनमा रहने भन्ने खिचातानीको कारण भएको द्धन्दले यहाको आधाभन्दा वढी जनताले ज्यान गुमाउनु परेको रहेछ । सन १६१८ देखि १६४८ सम्म चलेको ३० वर्षे धार्मिक युध्दको कारण यहा भुखमरी र रोगब्याधी फैलन गई यो शहरले आफ्नो स्वायत्तता गुमाई अन्ततः भुर्टेमवर्गको ड्युककै अधिनमा पुगेछ ।

१९औं शताब्दिको शुरुवात संगै यस शहरले ठूलो औद्योगिक विकाश गरेछ । यहा हातमा लगाउने पन्जा, खाद्य प्रशोधन, सुति र धातु उद्योग निकै फस्टाउन पुगेछ । २० नोभेम्वर १८४५ इतिहासमा पहिलो पटक कानस्टाट देखि एसलिंगन सम्म रेल यातायात शुरु भएको रहेछ  । दोश्रो विश्वयुध्दमा जर्मनीको हारसंगै अप्रिल १९४५ मा यो शहरलाई अमेरिकी सैनिकले आफनो अधिनमा लिएको रहेछ । युध्दताका खसालिएको बमको कारण यो शहर क्षतविक्षत भएको रहेछ । त्यति हुंदाहुदै पनि मध्यकालिन यहाको नगरको केन्द्र भने सुरक्षितनै रहन पुगेछ । युध्द पश्चात यहा पूर्वि जर्मनीबाट आएका ४७ हजार शरणार्थीहरुलाई आवाशको विकाश गरी आश्रय दिएको रहेछ । पछिल्लो समयमा यो शहरमा ब्यवहारिक विज्ञान विश्वविद्यालय र मेकानिकल इञ्जिनियरिंग कलेजको स्थापना भएपछि यो विश्वविद्यालय नगरमा परिणत भएको रहेछ ।

प्राचीन,कलात्मक, ब्यपारबाट समृध्दि हासिल गरेको, स्वस्थ खच्चर, गधा, घोडाले तान्ने टांगा र एक्कामा परंपरागत ब्यापार गर्ने सस्कार कायमै रहेको, कलात्मक काठका फ्रेममा वनाइएका मनमोहक घर हरु र परंपरागत वेशभुषाले सिगारिएको एसलिंगन नगर ज्यादै सुन्दर र मनमोहक रहेछ । करिव दुइघण्टा यो नगरमा वसी त्यहाको सुन्दरता र प्राचीनता दुवैको अवलोकन गरी हामी वेलुकी ६ः३० वजे तिर स्पायर फर्कियौ ।