काठमाडौं - प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था विराटनगरको कोसी अस्पतालबाट उत्पादन हुने फोहोर बिक्री गर्न थालिएको छ । यसअघि उक्त अस्पतालको फोहोर विराटनगर महानगरपालिकामार्फत व्यवस्थापन गरिँदै आएको थियो । 

जोखिमयुक्त मानिने अस्पतालजन्य फोहोर व्यवस्थापन व्यवस्थित थिएन । नष्ट गर्ने सुरक्षित इन्सिनेटरको अभाव हुँदा व्यवस्थापनमा समस्या भइरहेका बेला अस्पतालजन्य फोहोर वर्गीकरण गरी बिक्री गरेर अस्पतालले आम्दानी लिन थालेको हो । 

संक्रमणजन्य र संक्रमणरहित फोहोरलाई वर्गीकरण गर्दै अलगअलग डस्टविनमा संकलन गरेर ठेकेदारलाई बिक्री गर्ने गरिएको अस्पतालको फोहोर व्यवस्थापन फोकल पर्सन सोनी सुवेदीले जानकारी दिइन् । 

उनका अनुसार अस्पतालको फोहोर व्यवस्थापनका लागि वार्षिक ३ लाख रूपैयाँ बजेट आउने गरेको थियो । तर, महानगरलाई महिनाकै ६० हजार रूपैयाँसम्म बुझाउनुपर्ने बाध्यता थियो । त्योबाहेक व्यवस्थापनमा प्रयोग हुने सामग्री अस्पतालले उपलब्ध गराउनुपर्ने हुन्थ्यो । 

थोपारेर राखिएका फोहोर उठाएर महानगरले खुला ठाउँमा फाल्दा विभिन्न रोग र महामारीको संक्रमणको जोखिम उच्च थियो । 'बिक्री हुन थालेपछि चुनौतीका रूपमा रहेको फोहोर व्यवस्थापनतर्फको खर्चसमेत कटौती भएको छ,' सुवेदीले भनिन्, 'अर्कोतर्फ आम्दानी हुनुका साथै खुला ठाउँमा जथाभावी फाल्दा हुने संक्रमणको जोखिम हटेको छ ।’

वार्ड र वरपरबाट उत्पादन हुने फोहोर व्यवस्थापनमा यूएनडीपीले सहयोग गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले बताए । 

उनका अनुसार पहिलो पटक फोहोर बिक्री गरेर ६ हजार ५ सय रूपैयाँ कमाइ भएको छ । अस्पतालमा विभिन्न रोगको उपचार हुने १२ वटा वार्ड छन् । यूएनडीपीले व्यवस्थापन सम्बन्धी तालिम दिनुका साथै फोहोर संकलन गर्ने डस्टविन उपलब्ध गराएको छ । 

डा. खरेलका अनुसार सिरिन्ज, त्यसको खोल, निडिल, स्लाइनको बोतल, ड्रेसिङ प्याड, क्यानोलालगायत रगत मिसिएका संक्रमणजन्य फोहोरलाई अलग्गै राख्ने गरिएको छ । अस्पतालबाट १५ प्रतिशत संक्रमणजन्य फोहोर उत्पादन हुने गरेको उनले बताए । अस्पतालमा उपचार गराउने बिरामी र कुरुवाले प्रयोग गर्ने प्लाष्टिक, कागज, पानीका बोतल, औषधिका खोल, खानाबाट निस्कने लगायतका संक्रमणरहित फोहोर पनि छुट्याएर संकलन गर्ने गरिएको उनको भनाइ छ । 

विगतमा अस्पतालबाट बोतललगायतका वस्तु कवाडी संकलन गर्नेहरुले लैजाने गरेका थिए । अब कवाडी संकलकलाई प्रवेशमा रोक लगाउँदै सबै खालका फोहोर बेच्न थालिएको हो । ‘जोखिमयुक्त र जोखिमरहित तथा सड्ने र नसड्ने फोहोरलाई अलगअलग संकलन गरी सम्झौता गरेर ठेकेदारलाई बिक्री गरिन्छ,' डा. खरेल भन्छन्, ‘फोहोर व्यवस्थापन उचित हिसाबले हुन थालेपछि संक्रमणको सम्भावना कम हुनुका साथै अस्पतालको वातावरण पनि राम्रो भएको छ ।'

उनले ठेकेदारले सबै फोहोर पुनः प्रयोग र उर्जा उत्पादनका लागि लैजाने गरेको बताए । 

‘फोहोरको उचित व्यवस्थापनले अस्पताललाई सफा र दुर्गन्धरहित बनाउन मद्द‍त पुगेको छ,' डा. खरेल भन्छन्, ‘महामारी र विभिन्न रोगका संक्रमणको जोखिम पनि हुँदैन ।’ 

संक्रमणको जोखिमका हिसाबले अस्पतालजन्य फोहोर जथाभावी फाल्न नमिल्ने उनले बताए । ‘सरकारी अस्पताललाई सुधारको बाटोतर्फ लैजाने प्रयास गरिरहेका छौँ, 'उनले भने, ‘फोहोर व्यवस्थापनदेखि लिएर सबै कुरामा अस्पताललाई नमूना बनाउने योजना छ ।’ 

अबका दिनमा फोहोर बिक्रीबाट मासिक १ लाख रूपैयाँसम्म आम्दानी गर्न सकिने उनले बताए । अस्पतालले प्रसूतिका क्रममा उत्सर्जन हुने फोहोर तथा सालनाल, शल्यक्रियाका क्रममा निस्किने ट्यूमर आदि वस्तुबाट जैविक ग्यास उत्पादन गरिरहेको छ ।