काठमाडौं - भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आइतबार बेलुका दुबईमा सम्पन्न फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनायो। भारतले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि उचाल्यो।

भारतका लागि कप्तान रोहित शर्माले ७६ रनको उत्कृष्ट योगदान दिए। श्रेयस ऐरले ४८ रन बनाए भने शुभमन गिलले ३१ रन जोडे। विराट कोहली मात्र २ बल खेल्दै १ रनमा आउट भए। अक्षर पटेलले २९ तथा हार्दिक पाण्ड्याले १८ रन बनाए। केएल राहुल ३४ रनमा अविजित रहँदा रविन्द्र जडेजाले नटआउट ९ रन बनाए।

न्युजिल्यान्डका बलर माइकेल ब्रेसवेल र मिचेल स्यान्ट्नरले समान २ विकेट लिए। काइल जेमिसन र रचिन रविन्द्रले समान १ विकेट लिए।

न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले १०१ बलमा ६३ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। माइकेल ब्रेसवेलले नटआउट ५३ रन बनाए। विल योङले १५, रचिन रविन्द्रले ३७, केन विलियम्सनले ११, टम ल्याथमले १४, ग्लेन फिलिप्सले ३४, र मिचेल स्यान्ट्नरले ८ रन जोडे। भारतले १६ अतिरिक्त रन दियो।

भारतका बलर वरुण चक्रवर्ती र कुलदीप यादवले समान २ विकेट लिए। मोहम्मद शामी र रविन्द्र जडेजाले समान १ विकेट लिए। अक्षर पटेल र हार्दिक पाण्ड्या विकेटविहीन रहे।

भारतले यसअघि सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो। सन् २००२ मा भने वर्षाका कारण फाइनल खेल रद्द हुँदा भारत र श्रीलंकालाई संयुक्त विजेता घोषणा गरिएको थियो।

सन् १९९८ मा पहिलो उपाधि दक्षिण अफ्रिकाले जितेको थियो। त्यसपछि सन् २००० मा न्युजिल्यान्ड, २००४ मा वेस्ट इन्डिज, २००६ र २००९ मा अष्ट्रेलिया, तथा सन् २०१७ मा पाकिस्तान च्याम्पियन बनेका थिए।