काठमाडौं - नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्न अयोग्य ठहरिएको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालामा फुटबल खेलाउन पुनः अयोग्य सावित गरेपछि एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत अब नेपाल मलेसियासँग खेल्न खेल मलेसिया नै जाने भएको छ ।
यसअघि नेपालले छनोटको पहिलो लिग मलेसियासँग आगामी मार्च २५ तारिख दशरथ रङ्गशालामा खेल्ने तय भएको थियो ।
दशरथ रङ्गशालाको मापदण्ड पूरा गर्न नसक्दा पहिलो लेख मलेसियाको जोहोरमा सरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
एन्फाका प्रवक्ता सुरेश शाहले दशरथ रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मातहतमा हुँदा राखेपले एएफसीको प्रतिनिधिलाई मापदण्ड अनुसारको मैदानको कागजात दिन नसकेको बताए ।
‘‘मैदान निरीक्षणमा आएका प्रतिनिधिले अयोग्य ठानेपछि खेल खेलाउन सक्ने अवस्था नभएको तर छनोटको दोस्रो लेग नेपालमा खेलाउने प्रयास भइरहेको प्रवक्ता शाहको भनाइ छ ।
एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग उसैको मैदानमा खेल्नेछ। त्यसपछि नेपालले अक्टोबर १० मा नेपाल भियतनामसँग खेल्नेछ । नेपालले अक्टोबर १५ मा भियतनामसँग दोस्रो लेग दशरथ रङ्गशालामा र नोभेम्बर १८ मलेसियासँग, मार्च ३१ मा लाओससँग दशरथ रङ्गशालामै खेल्ने तालिका छ ।
‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट खेलहरू यसअघि पनि दशरथ रङ्गशाला अयोग्य रहेको भन्दै बाहिर सञ्चालन गरिएको थियो ।



0 comment