काठमाडाैं - नेपाल १३ औं पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेतामा सीमित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भएको हो।
म्यानमारले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा गोल गरेको हो । म्यानमारलाई उपाधि दिलाउन यु पेर खिनेले ६२ औं मिनेटमा पहिलो गोल गरिन्। खेलको ६४ औँ मिनेटमा फ्यु फ्यु विनको फ्रिकीकमा कप्तान विन थेंगी टेनले गोल गर्दै म्यानमारको अग्रता दोब्बर पारिन्।
खेलमा नेपालले म्यानमारमाथि केही दबाब बनाए पनि गोल निकाल्न भने सकेन। नेपालले खेलमा गोल गर्ने केही अवसर सृजना गरे पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामै सीमित हुन पुगेको हो। नेपालले लिग चरणमा म्यानमारलाई २-२ को बराबरीमा रोकेको थियो।



0 comment