काठमाडौं - बङ्गलादेशकी अन्तर्राष्ट्रिय खेलाडी सोहेली अख्तरलाई आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँचवटा उल्लङ्घन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको खेलको नियामक निकायले जनाएको छ ।

अख्तरले सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी- २० विश्वकपमा एक बङ्गलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड (१६ हजार डलर) को प्रस्ताव गरेका थिए ।

नाम नखुलाइएकी खेलाडीले अख्तरका बारेमा रिपोर्ट गरेकी थिइन् । उनी त्यो प्रतियोगितामा संलग्न थिइनन् ।

बङ्गलादेश क्रिकेट बोर्डका निर्देशक तथा महिला विभाग प्रमुख नजमुल आबेदिन फहिमले अख्तरको कार्य ‘दुर्भाग्यपूर्ण’ भएको बताएका छन् । 

उनले बङ्गलादेश क्रिकेटका सबै तहमा फिक्सिङ रोक्न कडा प्रयास गरिरहेको फहिमले बताए ।

छत्तीस वर्षीया स्पिनर अख्तरले आफ्नो देशका लागि १३ टी- २० र दुई एकदिवसीय खेल खेलेकी छिन् । उनले सन् २०२२ मा बङ्गलादेशका लागि अन्तिम पटक खेलेकी थिइन् ।