माइन्चजको क्याथेड्रल र गुटेनवर्ग म्यूजियम अवलोकन गरी स्पायर फर्केपछि हाम्रो पढाइले निरन्तरता पाएकै थियो ।  हामी विदेशी विद्यार्थी वसेको होस्टेल यदाकदा जर्मनीको अन्य प्रदेशबाट आएका जर्मन विद्यार्थीहरुपनि हामीसंगै होष्टलमा बस्थे । तिनीहरुमध्य एक जर्मनीको वोपार्ड भन्ने शहरको गेरहार्ड भन्ने जर्मन मित्रसँग मेरो घनिष्ठता बढेको थियो । वोपार्ड स्पायरबाट १४८ किलोमिटर उत्तरमा पर्ने कारण गेरहार्ड सोमवार विहान कलेज आउने अनि शुक्रवारसम्म होष्टलमा बस्ने अनि शुक्रवार बेलुका आफ्नै कारमा सप्ताहन्तको लागि वोपार्ड जाने गथ्र्यो । त्यस्तै एक शुक्रवार उसले मलाई आफ्नो घर लैजाने प्रस्ताव गर्यो । मलाई ढुंगा खोज्दा देउता मिले जस्तो भयो ।

मैले उसको प्रस्तावलाई तुरन्तै स्वीकारे र सन १९८९ को अगष्ट महिनाको  अन्तिम शुक्रवारको वेलुका हामी दुई लाग्यौ वोपार्ड तिर । वेलुका ४ बजे तिर हामी स्पाएरबाट त्यता लागेका थियौ ६ः३० वजे वेलुकी हामी उसको घरमा पुग्यौ । उसका वुबाआमासँग परिचय भएपछि वेलुकी खाना खाई सामान्य गफसफपछि उसले मलाई म सुत्ने कोठा देखाइदियो र म सुत्न आफनो कोठा तर्फ लागे । भोलिपल्ट विहान ७ः३० वजे उसले मेरो ढोका ढकढकाई उठायो र हामी चारैजना ब्रेक फास्ट टेवलमा जम्मा भयौं । त्यही क्रममा उसले त्यो दिन ट्रिअर जाने र त्यहाको ऐतिहासिक महत्वको स्थानहरु अवलोकन गर्ने जानकारी दियो । ट्रिअर वोपार्डको पश्चिम दक्षिण १४३ किलोमिटरको दुरीमा थियो । हामी विहानको १० वज्दा उसकै कारमा ट्रिअर पुगिसकेका थियौ । कारलाई पार्किंगंमा छाडेर त्यहाँ हामीले त्यहाँको प्रख्यात पोर्टा निग्रा (कालो ढोका) अवलोकन गर्न तर्फ लाग्यौ ।  
 

पोर्टा निग्रालेटिन भाषामा पोर्टा भनेको ढोका र निग्रा भनेको कालो भन्ने वुझिन्छ । त्यस अनुसार पोर्टा निग्राको शब्दार्थ कालो ढोका हो । यो ढोका आल्प्स हिमालको उत्तर तर्फ रहेका देशहरुमा भएका रोमन शैली सबैभन्दा ठूलो रोमान स्मारक ढोका भएको कारण यो यूनेस्कोको विश्व सम्पदा सूचीमा परेको रहेछ । यस ढोकाको सन १७० मा निर्माण गर्दा खैरो रंगको ढुंगाबाट बनेको भएतापनि के कारणले हो ढुंगाको रंग कालान्तरमा क्रमस कालो हुदै गएको कारण यसलाई पोर्टा निग्रा भन्न थालिएको रहेछ । निर्माण् भएको अवस्थामा यस ढोकामा चारतले दुइवटा धरहरा जस्तो टावर पनि निर्माण गरिएको रहेछ जस्लाई एउटा साघुरो चोकले छुट्टाएको रहेछ । दुई टावरकोवीचमा ढोका वनाउन प्रारंभ गरिए तापनि शताब्दियौसम्म त्यसले पूर्णता पाउन सकेको रहेनछ । जुनवेला यसले पूर्णता पायो त्यसवेला देखिनै यो ढोका ट्रिअर शहर छिर्ने मुख्य प्रवेशद्धार भएको रहेछ ।

पछि ट्रिअर शहरको चारै दिशामा यस्ता ढोका बनाइएको भएतापनि जुन महत्व पोर्टा निग्राले पायो पछि बनेका अन्य तिन दिशाका ढोकाहरुलाई त्यति महत्व दिइदो रहेनछ । रोमनकालमा ट्रिअर शहरको उत्तरी भागलाई यसद्धारले सुरक्षा दिएको रहेछ । पछि वनेका ३ ढोकाहरु कालान्तरमा भत्किएर गएको कारण सबैभन्दा पुरानो ढोका पोर्टा निग्रा भने वर्तमानमासमेत संरक्षित अवस्थामा रहेछ ।

सन १०२८ पछि यस ढोकाको तेश्रो तलामा ग्रिक क्रिश्चियन पादरीहरु आएर वसेको कारण दोश्रो तलामा चर्च पनि संचालनमा आएको रहेछ भने पहिलो तला सर्वसाधारणको अवलोकन लागि खुला गरिएको रहेछ । भुइतलामा रहेको ठूलोद्धार धेरै शताब्दिसम्म ताल्चा लगाई वन्द गरेको कारण द्धारको दायावायामा रहेका भर्यागबाट माथिल्ला तलमा जान सकिने बनाइएको रहेछ । पश्चिम टावरको एउटा झ्याललाई भत्काइ ढोका बनाई सर्वसाधारणलाई चर्चको प्रार्थना कक्षमा प्रवेश गर्न सहज बनाइएको रहेछ । सन १८०२ मा फ्रान्सका सम्राट नेपोलियनले यहाँबाट चर्चलाई हटाएको कारण पादरीहरुको वासस्थान (मोनास्टरी) यहाबाट अन्यत्रै सारिएको रहेछ र पोर्टा निग्रालाई मध्यकालकै स्वरुपमा जिणोद्धार गरिएको रहेछ । जिणोंद्धार पश्चात सम्राट नेपोलियन आफै यसद्धारको निरिक्षण गर्न सन १८०४ मा आएका रहेछन् । शुरुमा आफनो विजय लगत्तै सम्राट नेपोलियनले यसद्धारलाई भत्काउन खोजेका तर स्थानीय वासिन्दाहरुले यसद्धारको ऐतिहासिक र पुरातात्विक महत्व भएको कारण भत्काउन नदिएको कारण उनले भत्काउनुको सट्टा जनमतको कदर गर्दै यसलाई पूरानै रोमनशैलीमा जिर्णोध्दार गर्न लगाएको रे भन्दा रहेछन् ।

यसद्धारको पुरातात्विक महत्वलाई बुझेर यस द्धारबाट गाडीहरुलाई छिर्न दिइदो रहेनछ । गाडिहरुको लागि द्धारकै दायावायाबाट नया सडकहरु खोलिएका रहेछन । लक्जेमवर्ग र जर्मनीको सिमानामा रहेको यो जर्मन शहर ट्रिअरमा पयर्टकहरु यही द्धार अवलोकन गर्न भनेर ठूलो संख्यामा आउदा रहेछन । द्धारको छतको दलिन श्रीपेचजस्तो देखिनै शैलीमा बनाईएको र त्यहाँ भएका खुडकिलाहरु (प्यारापिट) सम्म पर्यटकहरुलाई गाइडको अगुवाइमा जान दिइदो रहेछ ।