काठमाडौं - फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि  जनकपुर नाइट्सले जितेको छ ।

त्रिपुरेश्वोरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा जनकपुरले काठमाण्डू माभरिक्सलाई ४५- ४१ ले पराजित गर्दै उपाधि हात पारेको हो ।

यसअघि जनकपुर २३ अङ्कसहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो । उसले लिग चरणमा चार खेल जित्दा काठमाण्डूसँग बराबरी खेलेको थियो । पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई ३४- ३२ ले हराउँदै फाइनलमा पुगेको थियो ।

उपाधिसँगै जनकपुरले पाँच लाख प्राप्त गरेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको काठमाण्डूले दुई लाख प्राप्त गरेको छ । पहिलोपटक भएको फ्रेन्चाइज कबड्डी लिगमा छ टिमको सहभागिता रहेको थियो ।