काठमाडौं - आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको दोस्रो खेलमा स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित भएको छ । यससँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना कठिन बनेको छ ।

समूह डीमा रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । आज (सोमबार) को खेलमा नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले ८ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्‍यो । नेपालकी सिमाना केसी र रचना चौधरीले २-२ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन । पूजा महतो र कृष्मा गुरुङले एक-एक विकेट लिँदा ३ खेलाडी रनआउट भएका थिए ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै १८.५ ओभरमा ७३ रन बनाएर अलआउट भयो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् ।

यसैगरी सावित्री धामीले ११ बलमा १० रन बनाउँदा १ चौका प्रहार गरिन् । त्यसबाहेक अरु कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तेस्रो ठूलो स्कोरको रुपमा अनु कडायतले नटआउट ५ रन बनाएकी थिइन् । स्कटल्यान्डकी मैसी मैसिराले सर्वाधिक ५ विकेट लिइन् । उनले ३.५ ओभरमा १५ रन खर्चिएकी थिइन् । यसैगरी एमी बाल्डी र नइमा सेखले दुई-दुई विकेट लिए ।

७४ रनको लक्ष्यसहित मैदान उत्रिएको स्कटल्यान्डको सुरुआत राम्रो भएन । ओपनर पिपा केली र इमा वालसिंघम क्रमश: शून्य र १ रनमा पभेलियन फर्किए ।

विकेटकिपर ब्याटर पिपा स्पोरुलले ४७ बलमा ३५ रन बनाउँदा ३ चौका प्रहार गर्दै स्कटल्यान्डलाई जितको आधार तयार गरिन् । गेवरिला फोन्टेलाले ९ बलमा १२ रनको नटआउट पारि नै दोस्रो ठुलो रन थियो ।

स्कटल्यान्डको यो पहिलो जित हो भने नेपालको लगातार दोस्रो हार हो । अघिल्लो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो । नेपालले अब अस्ट्रेलियासँग खेल्न बाँकी छ । उक्त खेलमा अस्ट्रेलियालाई हराउँदै नेपाल स्कटल्यान्डको नतिजामा भर पर्नुपर्नेछ ।