हानोभरको हाउजेन बगैचा, माक्र्टकिर्ख र पुरानो शहर अवलोकन गरिसक्दा दिनको ३ बजेको थियो । पुरानो शहरबाट सरासर रेलवे स्टेशन आई लागे म आम्स्टरडम तर्फ । दिनको ३ः३० बजे छुटेको रेल बेलुकीको सात बजे आम्स्टरडम रेलवे स्टेशनमा आएर रोकियो । त्यहाँ अवलोकन गर्न लायक भनेको पुरानो शहर भन्ने थाहा लागेपछि म पैदलै त्यता तर्फ लागे । पुरानो शहरमा हेर्न लायकका कुरा भनेको स्राइअरस्टोरेन, आउडेजिड्स कोल्क, फोरवुर्गवाल र हाउटेन हुइस रहेछन् । 

स्राइअरस्टोरेन

यो आम्स्टरडमको पुरानो शहरलाई सुरक्षा दिन सन् १४८१ मा बनाइएको पर्खाल सहितको टावर रहेछ र त्यसको भग्नावशेषको एक भाग संरक्षण गरेर राखिएको रहेछ । यसलाई रुन्चे आइमाइको टावर भनिदो रहेछ किनकी हेनरी हडसन भन्ने समुद्री डुंगा चलाउने ब्यक्ति जहाज लिएर उत्तर अमेरिका तर्फ लाग्दा उसका श्रीमती त्यो टावरमा आएर कहाली कहाली रोएको कारण त्यसो भनिएको रहेछ । यही हडसनले मानहट्टनको टापु पत्ता लगाएका रहेछन् । पछि पनि जब जब आफ्ना श्रीमान्हरु युद्धको लागि घर छोडी जान्थे वा माछा मार्न जान्थे उनीहरुका श्रीमतीहरु त्यहाँ आएर रुने परम्परा बसेको रहेछ । त्यस टावरमा रहेको कलात्मक शीलापत्रले आफ्नो श्रीमान्हरु विछोडमा बेहोस भएकी महिला स्मरण गरेकोरहेछ । 

आउडेजिड्स कोल्क र फोरवुर्गवाल

यो साँघुरो नहर जसको दुबैतर्फ कलात्मक पुरानो भवन ठडिएको ज्यादै मनमोहक स्थान रहेछ । नहर ओस्टरडोकबाट शुरु भई फोरवुर्गवालमा गएर समुद्रमा मिसिदो रहेछ । त्यहाँ नहरमा लगाउने कोल्कस्लुइस नामक मध्यकालिनपुरानो ताल्चा देख्न पाइदो रहेछ र यस ताल्चा नहर बन्द गर्न त्यतिखेर पनि नियमित रुपमा प्रयोग हुँदो रहेछ भन्ने थाहा लाग्यो । यही नै अंगुरको रक्सी भण्डारन गर्ने भिज्नेपाखुइस मालागा नामक आम्सटरडमकै सबैभन्दा पुरानो गोदाम पनि रहेछ । फोरवुर्गभालको अर्को आकर्षण खुड्किला जस्तो गरी बनाएको अत्यन्त सुन्दर मध्यकालिन घरहरु रहेछन् ।

हाउटेन हुइस 

यस ठाउँको अर्को आर्कषण भनेको जेडिज्कमा रहेको हाउटेन हुइस नामक सन् १५५० तिर बनेका दुइवटा काठका घरहरु रहेछन् । हेर्दा ज्यादै सुन्दर देखिने यी दुइ काठका घरहरु विभिन्न बेलामा भएका आगलागीबाट पनि बचेका रहेछन् ।