स्टाभान्गरबाट रात्रि रेलमा ओस्लो आइपुग्दा बिहानको ६ः४५ बजेको थियो । त्यहाँबाट डेनमार्क प्राचीन शहर एरहुस जाने निधो गरी ८ बजे रेल चढेँ । एरहुस आइपुग्दा दिनको ३ बजेको थियो । त्यहाँको पुरानो शहर अवलोकन गर्ने उद्देश्यले हातमा एरहुस शहरको नक्सा बोकी म पैदलै त्यतातिर लागेँ ।
एरहुश शहर
यो शहर कोपनहागेनपछिको डेनमार्कको दोस्रो ठूलो अनि प्राचीन शहर रहेछ । जुटलैण्ड प्रायद्विपको पूर्वी समुद्रको किनारमा रहेको यो शहर भाइकिङहरुले आठांै शताब्दिमा नै किल्ला बनाइ स्थापना गरेका रहेछन् । सन् ९४८ तिर यहाँ क्रिश्चियन विशप आई धर्मप्रचार गरेका रहेछन् भने त्यति बेला नै कृषि उपजको सामुद्रिक व्यापार गर्ने केन्द्र रहेछ यो शहर । १७ औं शताब्दिमा स्वेडिसहरुले आर्थिक नाकाबन्दी गरी बमले आक्रमण गरेको कारण ब्यापारमा शिथिलता आई आर्थिक क्रियाकलाप धेरै सिमित हुन पुगेको रहेछ । पछि २०औं शताब्दिमा ब्यापारमा आएको विकासले यस शहरलाई डेनमार्कको दोस्रो शहर बनाएको रहेछ ।
आर्थिक र सांस्कृतिक विकासकै कारण यो शहर युरोपकै उत्कृष्ट शहरमध्ये एक मानिँदो रहेछ । एरहुसको भित्री शहरमा सन् १९६० देखि गरिएको पुरातात्विक उत्खननपश्चात् यहाँ सन् ९०० तिरको पुरानो इनार, बाटो, घर कारखाना, भाडाकुडा, गरगहनाहरु फेला परेका रहेछन । त्यस्ता कुराहरु फेला पर्नुको कारण त्यतिखेर त्यो चिहानस्थल भएको र पछि भाइकिङ युगमा यो उनीहरुको राजधानी नै बन्न पुगेको रहेछ । मध्यकालमा आएर यस शहरमा चर्चहरु, धार्मिक भवनहरु बनेका रहेछन् ।
यस शहरको इतिहास बुझ्दा यो कहिले स्वेडेनको अधिनमा र कहिले जर्मनको अधिनमा परेको रहेछ । यहाँको पर्यटनको अति आकर्षणको केन्द्र भनेको भोल्डेन र ग्राभेन नामक साँघुरो अनि घुमाउरो गल्लीमा रहेका भाइकिङ युगदेखि मध्यकालिन युगमा काठको फ्रेममा बनाइएका खुला म्युजियमको रुपमा रहेका गोथिक, बारोक, रोकोको नोर्दिक वास्तुशैलीका राम्ररी संरक्षण गरिएका घरहरु, एरोस कला म्युजियम आदि पर्दा रहेछन । त्यसमध्ये पनि विशेष गरी पश्चिमी ढोका (वेस्टर गेट) र लेटिन क्वार्टर हेर्न पुरै युरोप र विश्वबाट गरी वार्षिक १४ लाखसम्म पर्यटकहरु यहाँ आउँदा रहेछन् । एक घण्टासम्म प्राचीन शहर अवलोकन गरेपछि म लागेँ एरहुसको क्याथेड्रल अवलोकन गर्न ।
एरहुसको क्याथेड्रल
यो क्याथेड्रल १२ औं शताब्दिमा बनेको रहेछ र डेनमार्कभरिकै लामो र अग्लो चर्च रहेछ । १२ आंै शताब्दिमा निर्माण शुरु भएको यो चर्च सेन्ट क्लेमेन्सप्रति समर्पित रहेछ । १२०० जना अटाउने प्रार्थना कक्ष हुनु यस चर्चको विशेषता रहेछ । रोमनेक्स शैलीमा रातो इँटाले बनेको यो चर्चको धनुषाकारको दलिन काठले बनेको रहेछ भने गजुरहरु चारवटा रहेछन् । सन् १३३० को आगलागीले क्षति पुगेपछि यो परित्यक्त अवस्थामा पुगेको र पछि सन् १५०० मा यस चर्चलाई गोथिक शैलीमा पुनर्निर्माण गरिएको रहेछ ।
त्यसपछि पनि यस चर्चमा विभिन्न कालखण्डमा परिवर्तनहरु गरिएका रहेछन् । यस चर्चभित्र अवलोकन योग्य कुराहरु भनेको मध्यकालिन डेनिस शैलीका फ्रेस्को पेन्टिङहरु, ब्रेन्ट नोट्केले बनाएको चर्चभित्रको मञ्च (आल्टर), कलात्मक शिशा (स्टेन ग्लास) का झ्यालहरु, क्राइष्टलाई झुण्डाइएको मूर्ति जस्मा उनको शीर देब्रेतिर लत्रेको देखाउनु जुन संसारभरका कुनै चर्चमा पनि नभएको भनिँदो रहेछ आदि पर्दा रहेछन् । सेन्ट क्रिस्टोफर र सेन्ट क्लेमेन्टले बनाएको यस चर्चभित्रको पेन्टिङ डेनमार्कभरिकै अग्लो पेन्टिङ मानिँदो रहेछ ।
त्यसै गरी चर्चभित्रै रहेको सुनको ढोका, घण्टा र पानीजहाजको नमुना, उच्च घरानाकी एक महिलाको चिहानलाई पनि चर्चभित्रको अवलोकन योग्य कुरा मानिँदो रहेछ । यसको अतिरिक्त चर्चभित्र धुन बजाउने सांगीतिक यन्त्र अर्गान लाम्बेर्ट डेनियलले सन् १७३० मा बनाएका रहेछन् ।



0 comment