काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ ।
आज भएको पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराएको हो । जितसँगै लुम्बिनीको पाँच खेलमा दुई अङ्क भएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए ।
लुम्बिनीका कप्तान रोहित पौडेलले ४ विकेट लिए । त्यसअघि पौडेलको सर्वाधिक ८० रनको मद्दतमा लुम्बिनीले चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो । पौडेल जारी एनपीएलमा दुई अर्धशतक पूरा गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् ।
उनले पोखरा एभेन्जर्ससँगको खेलमा ९५ रन बनाएका थिए । रोहित दुई सय ६१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा छन् ।
त्यस्तै आजको खेलमा लुम्बिनीका साद विन जाफरले ५२ रन बनाए । चितवनका रिजन ढकालले तीन विकेट लिए । आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स प्रतिष्पर्धा गर्दैछन् ।



0 comment