काठमाडौं - नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सले जितको  सुरुवात गरेको छ ।

आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जितसँगै जनकपुरले दुई अंक जोडेको छ।

जनकपुरसमक्ष विराटनगरले १२८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। विराटनगर  सुरुमै दबाबमा देखिएको थियो ।

जनकपुका लागि लाहिरु मिलन्थाले सर्वाधिक ७५ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । जनकपुरका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका मिलन्थाले ३९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा १ सय २७ रनमा समेटिएको थियो ।

विराटनगरका ओपनर गप्टिलले एनपिएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए ।

गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए ।

लिग अन्तर्गत भोली कुनै खेल हुनेछैन । उप निर्वाचनका कारण भोली कुनै खेल नहुने  भएको हो।

सोमवारबाट भने लिगमा २ खेल हुनेछन् । सोमवारको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुनेछ ।