काठमाडौं - खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेको र त्यहाँबाट पानी बगेर खेर गइरहेको जानकारी आएपछि मन्त्री यादवले आज मातहतका सम्पूर्ण निकायलाई तत्काल फुटेका पाइप नयाँ जडान एवं मर्मत गरी पानी सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।
यसैगरी मन्त्री यादवले पछिल्लो समय खानेपानीका पाइप फुटेका र मर्मत नभएका कारण नागरिकका घरमा पानी पुग्न नसकेको गुनासो आएको बताउँदै जहाँ पाइप फुटेका छन् तत्काल मर्मत गरी पानी सञ्चालन गर्न र जनताका धारामा पानी जान बन्द नगर्न आग्रह गर्नुभएको छ ।
उहाँले पाइप फुटेका ठाउँहरुमा नयाँ पाइप जडान गरी पानी सञ्चालनका लागि निर्देशन दिनुका साथै प्रत्येक वडामा गएर पानी आए नआएको तथा कहाँकहाँ पाइप फुटेको छ त्यो विषयमा स्थलगत अनुगमन गर्नसमेत निर्देशन दिनुभयो ।
उहाँले मन्त्रालयले काठमाडौं उपत्यकावासीका लागि २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउन ठेक्का आह्वान गरिसकेको जानकारी दिनुभयो ।
0 comment