काठमाडौं - चितवनको कारागार कार्यालय भरतपुरमा चाडपर्वको समयमा ५९ जना कैदीबन्दी थपिएका छन् । 

गत असोज १५ गते सात सय ५६ कैदीबन्दी रहेको कारागारमा कात्तिक मसान्तसम्ममा ८१५ कैदीबन्दी रहेको कारागार कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार थपिएका कैदीबन्दीमा लागु औषध र चोरी मुद्दाका बढी रहेका छन् । कारागारमा कैदीबन्दी थपिएसँगै व्यवस्थापनमा कठिनाइ भएको उहाँले बताउनुभयो । 

कारागारमा क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दी रहेका छन् । हाल २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४९ र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ६६ जना रहेका छन् । उनीहरूसँग तीन जना आश्रित बालबालिका पनि रहेका छन् ।
 
छिमेकी जिल्ला नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट समेत कैदीबन्दी ल्याउने हुँदा चाप बढेको उहाँले बताउनुभयो । अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब कैदीबन्दी बढ्दो क्रममा आए व्यवस्थापनमा कठिनाइ हुने उहाँले बताउनुभयो । 

अहिले कारागारमा मौसममा आएको परिवर्तनसँगै ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका छन् । आचार्यका अनुसार अहिले २०- २५ जना रुघाखोकीका बिरामी रहेका छन् ।

उनीहरूलाई स्वास्थ्य शाखाबाट निगरानीमा राखेर उपचार गरिएको छ । भीडभाड हुने क्षेत्र भएकाले रोग फैलनसक्ने उहाँले बताउनुभयो । 

कार्यालयले कैदीबन्दीका लागि आवश्यक न्यानो कपडा वितरण गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।