काठमाडौं - नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम-नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तीकरण कार्यक्रम अन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवर्द्धन निमित्त एक अनुदान योजना प्रारम्भ भएको छ ।
राष्ट्रिय वाणिज्य बैँक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरू अवलम्बन गर्न प्रोत्साहन गर्नु रहेको रीप- ग्रीन कार्यक्रमले जनाएको छ ।
उद्योग तथा व्यवसायहरुमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुका साथै कार्बन उत्सर्जन घटाउनु यस पहलको प्रमुख उद्देश्य रहेको कार्यक्रममार्फत जारी विज्ञप्तिमा उल्लेख छ ।
यस पहल अन्तर्गत ऊर्जा परीक्षकबाट सिफारिस भएका ऊर्जा दक्षताका उपायहरू कार्यान्वयनमा प्रोत्साहन दिन राष्ट्रिय वाणिज्य बैँक मार्फत आंशिक अनुुदान उपलब्ध गरिनेछ ।
अनुदान सञ्चालन निर्देशिका अनुसार आंशिक अनुदान, ऊर्जा दक्षताका उपायहरूमा कूल आवश्यक लगानीको निश्चित प्रतिशत हुनेछ । अनुदानको निमित्त योग्य हुन उद्योग व्यवसायहरुले मर्यादित कामका सिद्धान्त तथा वातावरणीय मापदण्डसमेत अवलम्बन गरेको हुनुपर्ने जनाइएको छ ।
यसले उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताका उपायहरू अवलम्बन गर्दा देखिने वित्तीय समस्यालाई सम्बोधन गरी ऊर्जा दक्षताका प्रविधिहरुमा लगानी गर्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
यस पहलमार्फत ऊर्जा दक्षताको महत्वपूर्ण पक्ष मानिने ऊर्जा लागतमा कटौतीका साथै पर्यावरणीय लाभ तथा विदेशी विनिमयको सञ्चितिमा टेवा पुग्ने विज्ञप्तिमा उल्लेख छ ।
जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयद्वारा सञ्चालित यस कार्यक्रममा जर्मन विकास सहयोग- जिआइजेडले प्राविधिक सहयोग पुऱ्याउँदै आएको छ ।
0 comment