काठमाडौं - काठमाडौंको मध्यभागस्थित सुवर्णपुर क्षेत्रमा रहेका प्राचीन स्मारक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका भाषा, संस्कृति, सङ्ग्रहालय, ललितकला वा कलात्मक वस्तुको संरक्षणका लागि काठमाडौं महानगरपालिकाले कानुन निर्माण गरेको छ ।
महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अख्तियार प्रयोग गरी नगर कार्यपालिकाले काठमाडौं महानगरपालिका सुवर्णपुर सम्पदा संरक्षण निर्देशिका, २०८० बनाएको काठमाडौं महानगरपालिका वडा नं ७ का वडाअध्यक्ष विमलकुमार होडाले जानकारी दिनुभयो ।
त्यस क्षेत्रका सम्पदाको सम्भार, प्रवर्द्धन र विकास गर्न तथा परम्परागत जात्रापर्वको सञ्चालन र व्यवस्थापनबाट यस क्षेत्रको सांस्कृतिक मौलिकताप्रति भावी पुस्ताले गौरव महसुस गर्न सकुन् भन्ने उद्देश्यले समग्र र बृहत् गुरुयोजनाका साथ काम गर्न कानुन निर्माण भएको उहाँले बताउनुभयो ।
सुवर्णपुर क्षेत्रमा महानगरपालिका वडा नं ७ को अधिकांश भाग र वडा नं ६ र ८ को केही भाग पर्ने पनि वडाअध्यक्ष होडाले जानकारी दिनुभयो । यो क्षेत्रका सम्पदाको व्यवस्थापन गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति पनि गठन गरिएको छ ।
सुवर्णपुर क्षेत्रमा पश्चिममा धोबीखोला, पूर्वमा कुमारीगाल, उत्तरमा चक्रपथ र दक्षिणमा सिफलचौर हुँदै कालोपुल धोबीखोलाको चार किल्लाभित्रको ऐतिहासिक तथा सांस्कृतिक महत्वको क्षेत्र पर्ने भनी परिभाषित गरिएको छ ।
0 comment