काठमाडौं - उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमानदारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज आयोजित कार्यक्रममा उहाँले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउन नहुने बताउनुभएको हो ।

विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक नभएको उल्लेख गर्दै उहाँले गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको भन्दै तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्न आग्रह गर्नुभयो ।

असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व सङ्कलन हुन नसक्ने जनाउदै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकारण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताउनुभयो । 

अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजश्वको दायरा बढाएर लक्ष्य अनुसार उपलब्धि हासिल गर्नसक्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषय रहेको उहाँको भनाइ छ । 

कार्यक्रममा अर्थसचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफै बढ्ने बताउनुभयो ।