काठमाडौं - आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई आज सम्मान गरेको छ ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।
अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेवापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ ।
वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल,सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक,कृषि एवं पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतन्जली आयुर्वेद,बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मान गरिएको छ ।
स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड,पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड,वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको छ ।
गत आर्थिक वर्षमा रु ५० करोड देखि रू एक अर्बसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ ।
ऊर्जामुलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सर्फमर कारोबार गर्ने कम्पनीमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् ।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाह सम्मानित हुनुभएको छ ।
विसं.२०७५ साउन देखि २०८१ असार मसान्त सम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रुपमा होङ्सी शिवम सिमेन्टलाई सरकारले सम्मान गरेको छ ।
वार्षिक रु ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राईजेज र विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेवापत वरुण बेभरेजलाई सम्मान गरिएको छ ।
कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरु पनि सम्मानित भएका छन् ।
0 comment