काठमाडौं - अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनजागारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेको हो ।
कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर व्यवस्थापन गरिएको कार्यक्रमको अगुवाइ गर्नुभएका एसई प्रोडक्सनका सञ्चालक सुरेन गुरुङले जानकारी दिनुभयो ।
गत कात्तिक २७ गते आधार शिविर पुगेको टोलीले सङ्कलन गरेर ल्याएको तीन बोरा सिसाजन्य फोहर हिजो गाउँपालिकामा बुझाएको थियो ।
मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा जानकारी दिने सूचना बोर्ड राखिएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार यस शरदयाममा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् ।
मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।
अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । तीन दिनको छोटो अवधिमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो ।
होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरुले खाना, खाजा, भाँडाकँुडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ ।
0 comment