काठमाडौं - निर्माणाधीन मुग्लिन- पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ ।
व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन- पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
उक्त पुलको छ वटा ‘स्पान’ हुनेछ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।
पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे समयभन्दा अगाडि नै सम्पन्न हुने बताउनुभयो । पुल निर्माणका लागि राति र दिउँसो दुई ‘सिफ्ट’ मा काम भइरहेको छ ।
0 comment