काठमाडौं - यु–१९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा महिला टोलीलाई आज स्वागत गरेको छ ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ(क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीहरू र खेल समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्नुभयो ।
राखेपका सदस्य सचिव घिसिङले यु–१९ टोलीले ऐतिहासिक सफलता हासिल गरेकोमा बधाई ज्ञापन गर्नुभयो । त्यस्तै नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले महिला क्रिकेटमा स्वर्णिम युगको सुरुआत भएको बताउनुभयो ।
नेपाली टोलीकी कप्तान पुजा महतोले टिमवर्कका कारणले नेपालले विश्वकपसम्मको यात्रा तय गर्न सफल भएको बताउनुभयो । आजै क्रिकेट सङ्घ (क्यान) ले नेपाली खेलाडीलाई जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।
संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा हिजो सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यु–१९ विश्वकपमा छनोट भएको थियो ।
नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै युएईले पनि समान खेलबाट समान १० अङ्क नै जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । यु–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागि नेपाल छनोट भएको हो । यु–१९ एसियाकप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् ।
0 comment