काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्ले, केन्द्रीय सदस्य सोविता गौतम र तोसिमा कार्कीसहितका नेताहरूविरुद्ध रिट दर्ता भएको छ ।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले गरेको आन्दोलनले अदालतको अवहेलना भएको दाबी गर्दै सर्वोच्चमा बिहीबार रिट दर्ता भएको हो ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा उपसभापति वाग्लेसहितका नेताहरुविरुद्ध अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको उल्लेख छ ।

निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त मर्हजन, तोषिमा कार्की, असिम शाह, गणेश पराजुली, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।

निवेदनमा अनुसन्धान चलिरहेका बेला अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लगाइएको छ । उक्त रिट निवेदन सुनुवाइ गर्न मंसिर ३ गतेका लागि पेसी तोकिएको छ ।

यसअघि सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले सो निवेदन दरपिठ (दर्ता गर्न अस्वीकार) गरेका थिए । अधिवक्ता भट्टराईले त्यसविरुद्ध यही कात्तिक २१ गते इजलाससमक्ष निवेदन दिएका थिए । सो निवेदनमाथि गत मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपिठ बदर गर्दै दर्ता गर्न आदेश दिएको थियो ।